‘अर्को सातादेखि मागअनुसारकै तेल’

tankar-660x330पुस २३ । काठमाडौं, रक्सौलबाहेकका नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति क्रमशः बढ्दै गएको छ, तर वितरण उस्तै छ

दैनिक साढे तीन लाख लिटर पेट्रोल वितरण गर्ने योजना
आयल निगमले अर्को सातादेखि उपत्यकामा दैनिक मागअनुसार पेट्रोल वितरणको तयारी गरेको छ । ‘दैनिक बरौनीबाट साढे तीन लाख, बेतालपुरबाट चार लाख र गोन्डाबाट चार लाख लिटर पेट्रोल ल्याउन खोजेका छौँ । त्यसअनुसार आयात भए उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटरका दरले वितरण गर्ने योजनामा छौँ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘तीनवटै डिपोले मागेजति तेल दिने सहमति गरेका छन् ।’

सिलगुढी–काँकडभिट्टाबाट पहिलेकै जति इन्धन आयात

इन्डियन आयल कर्पोरेसन ९आइओसी०को सिलगुढी डिपोबाट पुस सुरुदेखि नै सामान्य अवस्थाकै जति इन्धन नेपाल आउने गरेको छ । अहिले दैनिक पेट्रोल ६० हजार, डिजेल दुई लाख र हवाई इन्धन ४० हजार लिटर आउने गरेको छ । निगमले हवाई इन्धन दुई लाख लिटर लोड दिन अनुरोध गरेको छ । सिलगुढी डिपोले पनि सहमति जनाएको छ ।

बरौनी–विराटनगर हुँदै डिजेल दोब्बर आयात

बरौनी रिफाइनरीबाट दैनिक आठ लाख लिटर डिजेल र एक लाख ४० हजार लिटर पेट्रोल आयात भइरहेको छ । डिजेल करिब दोब्बर हो भने पेट्रोल आयात सामान्य अवस्थाको हो । विराटनगरदेखि तीन सय ५० किमि दूरीमा रहेको बरौनीबाट पेट्रोल आयात बढाएर ६ लाख लिटर पुर्‍याइदिन निगमले आग्रह गरेको छ, तर डिपोले दैनिक बढीमा तीन लाख ५० हजार लिटर दिन सक्ने जनाएको छ ।

रक्सौल डिपोबाट ठप्प

रक्सौल डिपोबाट निगमले दैनिक पेट्रोल पाँचदेखि सात लाख, डिजेल १५ देखि १६ लाख, हवाई इन्धन चारदेखि ६ लाख र मट्टीतेल ५० हजारदेखि लाख लिटरसम्म आयात गर्दै आएको थियो । तर, नाकाबन्दीयता सो डिपोबाट आपूर्ति ठप्प छ । निगमको आग्रहमा रक्सौल डिपोले दैनिक करिब डेढ लाख लिटर हवाई इन्धन दिने जनाएको छ ।

बेतालपुर–भैरहवा हुँदै पेट्रोल दोब्बर आयात

सामान्य अवस्थामा जस्तै बेतालपुर डिपोबाट भैरहवा हुँदै दैनिक चार लाख लिटर डिजेल आएको छ । दुई दिनयता पेट्रोल आएको छैन । पेट्रोल शुक्रबारदेखि लोड हुने र दैनिक चार लाख लिटर आउने निगम प्रवक्ता घिमिरेले बताए । सामान्य अवस्थामा त्यहाँबाट दैनिक दुई लाख लिटर पेट्रोल आउने गरेको थियो । डिजेल पनि लोड बढाएर ६ लाख लिटर दिन निगमले गरेको पत्राचारमा डिपोले सहमति दिएको छ ।

गोन्डा–नेपालगन्जबाट पेट्रोल दोब्बर ल्याइने

गोन्डा डिपोबाट दैनिक तीन लाख लिटर डिजेल रुपैडिया नाका हुँदै नेपाल आयात भइरहेको छ । तर, दुई दिनदेखि पेट्रोल आएको छैन । गोन्डाबाट निगमले चार लाख लिटर पेट्रोल लोडिङ दिन अनुरोध गरेको र डिपोले पनि सहमति दिएको घिमिरेले बताए ।

बन्थरा–धनगढी हुँदै आयात पुरानै अवस्थामा
बन्थरा डिपोबाट लोड भएको तेल धनगढी नाका हुँदै आउँछ र सुदूरपश्चिम क्षेत्रमा आपूर्ति गरिन्छ । बन्थराबाट सामान्य अवस्थामा जस्तै दैनिक एक लाख ५० हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल आयात भइरहेको छ ।

रक्सौलबाट पेट्रोल, डिजेल ल्याउन किन चाहेन निगमले ?

नाकाबन्दीसँगै इन्धन लोड ठप्प भएको रक्सौल डिपोबाट निगमले तत्काललाई हवाई इन्धन मात्रै ल्याउने भएको छ । पेट्रोल–डिजेल आयातको पहल थालेको छैन । रक्सौल डिपोमा लोड भएको तेल दुई सय किमि दूरीमा रहेको सुनौली नाकाबाट ल्याउनुपर्छ । रक्सौलबाट भन्दा बरौनी, बेतालपुर र गोन्डा डिपोबाट पेट्रोल–डिजेल ल्याउन खोजेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

‘रक्सौलबाट सामान्य अवस्थामा दैनिक पाँचदेखि सात लाख लिटर पेट्रोल आउने गरेको थियो । तर, अहिले नाकामा समस्या छ,’ घिमिरेले भने, ‘रक्सौलबाट सुनौली हुँदै पेट्रोल, डिजेल ल्याउन टाढा पर्छ । त्यसैले रक्सौलबाट आउने परिमाण बरौनी, बेतालपुर र गोन्डाबाट थपेर ल्याउन पहल गरिरहेका छौँ ।’ यी डिपोबाट ल्याउँदा दैनिक ६ लाख लिटरसम्म थप तेल ल्याउन सकिने उनले बताए ।

अब बिक्री बढाउँछौं
गोपालबहादुर खड्का प्रबन्ध निर्देशक, नेपाल आयल निगम

इन्धन आयात बढाउन के पहल गर्दै हुनुहुन्छ ?
रक्सौलबाहेकका सबै डिपो सिलगुढी, बरौनी, बेतालपुर, गोन्डा र बन्थराबाट सामान्य अवस्थाको र हाल आयात भइरहेकोभन्दा बढी इन्धन आयात गर्न लागेका छौँ ।

आइओसीले धेरै तेल लिन बोलाइरहेको छ, तर निगमले किन पर्याप्त ट्यांकर पठाइरहेको छैन ?
त्यस्तो हुँदै हुँदैन । आइओसीले परिमाण नबढाई लिन गएर त केही काम हुँदैन । उनीहरूले दिने परिमाण तेल लिन भने हामीले ट्यांकर पठाइरहेका छौँ । अब उनीहरूले दिने परिमाण बढाउँछौँ भनेका छन् । त्यसपछि हामी पनि ट्यांकर धेरै पठाउँछौँ । आपूर्ति पनि बढ्छ ।

रक्सौल डिपोमा तेल लोड गरेर भैरहवा नाकाबाट किन ल्याइएको छैन र?
रक्सौल डिपोले अहिले हवाई इन्धन मात्रै लोडिङ दिन्छौँ भनेको छ । हाम्रो मुख्य आपूर्ति हुने डिपो रक्सौल नै हो, तर उनीहरूले त्यहाँबाट पेट्रोल र डिजेल दिन चाहिरहेका छैनन् । यसमा उनीहरूकै केही कारण होलान् ।

तुलनात्मक रूपमा पछिल्लो समय इन्धन आयात बढेको छ, त्यो तेल कता गयो?
तपाईंले भनेजस्तै आयात केही बढेको छ । त्यसैले मुलुकभित्रका निगमका सबै डिपोलाई बिक्री बढाउन निर्देशन भएको छ । तेल वितरणमा कन्जुस्याइँ गरिएको छैन । काठमाडौंमा डिजेल आपूर्ति दुई–तीन दिनयता बढाएका छौँ । निजी कार, जिप, भ्यानलाई तीन दिनमा करिब १५ लाख लिटर पेट्रोल बाँड्न लागेका छौँ ।

तेल वितरण कहिलेबाट सहज हुन्छ ?
रक्सौल नाका खुलेपछि मात्रै पहिलेको जस्तो नियमित आपूर्ति गर्न सकिन्छ । तर, रक्सौलको विकल्पमा हामीले बेतालपुर डिपोलाई पेट्रोल बढाउन भनेका छौँ । उसले बढाएपछि सबै पेट्रोल भैरहवा हुँदै काठमाडौं ल्याउँछौँ । त्यसपछि मात्र आपूर्ति सहज गर्न सकिन्छ ।

हवाई इन्धन मौज्दात २० लाख लिटरभन्दा बढी छ, तर अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई किन दिनुहुन्न रु
अन्तर्राष्ट्रिय उडान भर्ने विमानको खपत दैनिक अढाइ लाख लिटरभन्दा बढी छ । खपत धेरै भएकाले अहिले नै धेरै दिन सकिन्न । अहिले कुनै प्राविधिक कारण इन्धन चाहिएमा मात्र अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई दिन सक्छौँ । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु