मुदीका पहिरो पीडितलाई अस्ट्रेलियाबासी नेपालीको यस्तो साथ

अस्ट्रेलिया, पाँच महिनाअघि म्याग्दीको मुदीमा गएको पहिरोमा आफन्त गुमाएका पीडितलाई अस्ट्रेलियामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी सेवा समाज अस्ट्रेलियाले उपलब्ध गराएको रु एक लाख ५० हजार बिहीबार पहिरोमा परी ज्यान गुमाएकाको आफन्तलाई वितरण गरिएको हो । छ जना मृतकका आफन्तलाई जनही रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको धनजनता मावि मुनाका प्रअ पुष्कर भण्डारीले जानकारी दिए ।

विसं २०७२ साउन १३ गते मुदी–५ नेरवाङको गाखर्कमा पहिरो जाँदा मुदीका दलदेवी पुन, तीर्थमान घर्ती, जिप्रसाद घर्ती, भीमबहादुर घर्ती, किसलाल पुन र हस्ता पुनको मृत्यु भएको थियो । गाखर्क पहिरोमा चार घरधुरी कृषकको २५० भेडाबाख्रा र ७५ वटा गाईगोरु पुरिँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

मृतकका आफन्तलाई जीविकोपार्जनमा सहज होस् भनेर यसअघि अस्ट्रेलियामा रहेका मुदीका युवा र म्याग्दी उद्धार समिति बहराइनले पनि रु दुई लाख ४८ हजार सहयोग गरेका थिए ।

सम्बन्धित शिर्षकहरु