निरास जीवन बिताउँदै भूकम्पपीडित

earthquake_victims_Nepal_538093782पुस १७ । काठमाडौं, अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न बिहीबार सहरका साना रेस्टुरेन्टदेखि पाँचतारे होटेलसम्ममा उत्सव मनाउने तयारी भइरहेका बेला राजधानीनजिकैको साँखु भने रोइरहेको थियो।

वैशाख १२ को विनासकारी भूकम्पले घर खण्डहर बनाइदिएपछि अधिकांश साँखुबासी बजार छोडेर अर्काको खेतबारीमा पानी चुहिने थोत्रा प्लास्टिक, बाँस र खिया लागेका जस्तापाताका टहरा बनाएर जीवन बचाउने प्रयास गरिरहेको दृश्य आफैंमा विरक्तलाग्दो छ।नयाँ वर्ष भन्दै राजधानीका युवकयुवतीले उल्लास मनाइरहेको बेला ती भूकम्पपीडित भने शीत पनि पानीझैं झर्ने जस्तापाताको टहरा र खेतको भुइँमा एउटा म्याट र तन्नामा जबर्जस्ती निदाउने तयारीमा थिए।

‘चिसोले आगो पनि बल्दैन। बल्तल्ल बिहान बालेपछि साँझ फेरि कसरी बाल्ने भन्ने चिन्ताले दिनभर सताउँछ। चिसोबाट बच्ने एउटा खाटसमेत रहेन। चिसोले नै श्रीमान् थलापरेका छन्। उनको उपचार कसरी गर्ने, केही सोच्न सकेकी छैन। राहत आउँछ, परपरै जान्छ’, साँखु पुखुलाछीकी मनकुमारी शाहीले भक्कानिँदै भनिन्।

भूकम्पले दिएको पीडा सुनाउँदै रुन थालेको पनि धेरै भयो मनकुमारी। ‘पुरेर पनि बाँचेका हामी ढुंगोमाटोमा थिचिँदा च्यातिएका कपडा बोकेर खेतमा झरेका थियौं। त्यसपछि माथि उक्लिन सकेका छैनौं। त्रिपालमा तीन महिना टर्‍यो। जाडो लागेपछि श्रीमान् थला परेर उठ्न सक्नुभएको छैन’, उनले भनिन्, ‘चिसोले ढाड दुखेर उठ्न सक्दिनँ। शीतले पानी परेझैं भिजाउँछ । थोत्रा बोरा टालटुल गर्दैमा दिन बित्छ। खाने कुरा बाँड्नुभन्दा त्यतिबेलै सुत्ने ठाउँ कसैले बनाइदिएको भए हामी अलि धेरै बाँच्थ्यौं होला।’

मनमायाले आँसु पुछ्न नपाउँदै आडैमा रहेको अर्को टहरामा जीवन गुजारा गरिरहेकी बुद्धलक्ष्मी शाहीले भनिन्, ‘रुनलाई आँसु पनि सकिसक्यो। रातभर निद्रा लाग्दैन, मनमा कुरा खेलिरहन्छ। एउटी बुहारी सुत्केरी छे । उसलाई निमोनिया भइसक्यो। अर्कीको पनि समय आइसक्यो।

सुत्केरी भएकी छोरीलाई ल्याउन सकिनँ । यस्तो चिसोमा कहाँ राख्ने, केही सोच्न सकेकी छैन।’ भूकम्पपछि सुरुका दुई महिना पाल र त्यसपछि जस्तापाताको टहरामा १४ जनाको परिवार समालिरहेकी बुद्धलक्ष्मीले आफूहरू दयनीय अवस्थामा पुगे पनि सरकारबाट आउने भनेको राहतमाथि पनि पहुँचवालाकै आँखा गढेको बताइन्।

सातजनाको परिवारसहित अर्को टहरोमा जीवन गुजारा गरिरहेका बेकुनारायण शाहीले बारीको डिलमा बसेर भक्कानिँदै भने, ‘रातभरि तलबाट चिसो आउँछ, सिरेटोले आँसुमात्र झार्छ। रेडक्रसबाट जम्मा सात हजार पायौं। अब अरू नपाउने रे ! के गरेर यो चिसो कटाउने हो, थाहा छैन।’
साँखुका अधिकांश भूकम्पपीडित अहिले पनि सालीनदीको किनारमा मनकुमारी, बुद्धलक्ष्मी र बेकुनारायणका परिवारले जस्तै गरी जीवन गुजारिरहेका छन्। बढ्दो चिसोले त्यो टहरा सबैभन्दा सकस र पीडादायी भएको छ। यस्तो बेला न्यानो कपडाका लागि सरकारले दिने भनेको रकम नपाएपछि उनीहरूको मन झनै दुखेको छ। विनासकारी भूकम्पले त्यस क्षेत्रका अधिकांश बासिन्दालाई ‘घरको न घाटको’ बनाइदिएको थियो।

नौ महिनापहिले सुनसान बजारमा अहिले चहलपहल बढेको छ। त्यतिबेला खाली खेतहरू अहिले जस्तापाताका टहराले भरिएका छन्। त्योभन्दा परिवर्तन केही पनि भएको छैन। भूकम्पपीडित गंगालाल कपालीले भने, ‘सबैलाई देख्दा विरक्त लाग्छ। हेर्ने कता?  अहिलेसम्म केही सहयोग पाएको छैन। चिसोले बल्लतल्ल जस्ताको टहरो बनाएको त्यही सकस भएको छ। सहरबासी बनेर के गर्नु, दैनिक छाक टार्न गाह्रो भइरहेको छ।’

हेटौंडामा मजदुरी गर्ने न्हुच्छेनारायण शाहीले भूकम्पले भत्काएको घर पन्छाउन नसकेर अहिलेसम्म टहरोसमेत बनाउन सकेका छैनन्। ‘जागिर एकातिर छ, घरको यस्तो बिजोक छ। कहिलेकहीं आउँदा दाइको घरमा बास बस्छु’, बिदामा साँखु आएका उनले एकैछिन भए पनि आफैं घरको इँट फाल्दै भने, ‘अब आफैंले घर बनाउन पनि धेरै वर्ष कुर्नुपर्छ।’
बाँसघारीमा टहरो बनाएर गुजारा गरिरहेकी ज्ञानु शाहीको चिसोले राति घुँडा करकर खान्छ।’सानो घर त्यही पनि भूकम्पले हेर्न नहुने बनायो’, एकल महिला ज्ञानुले भनिन्, ‘गाउँलेले बनाइदिएको टहरोमा रातभर आउने चिसोले थला परिसकें । चिसोबाट जोगिन दुई ठाउँमा टहरो बनाएर सरें तर खै बीसको उन्नाईस भएको छैन। पशुले पनि यति कष्ट झेल्दैन होला।’

साँखुका भूकम्पपीडित महिला दिनभर छिमेकी र साथीसंगीसँग कुरा गरेर मन बुझाउँछन्, रातभरि टोलाउँदै रुन्छन्। गोठको बसाइ, त्यो पनि अर्काको खेतमा सहनसम्म कष्ट सहेको छ नारायण कपालीको परिवारले। पुसको कठ्यांग्रिँदो चिसो, बाँस र प्लास्टिकको घरमा बूढी आमा र कलिला नानीहरूलाई बचाउने प्रयास गरिरहेका छन् नारायण।

‘दमले आमा सिकिस्त छिन् । नातिनीलाई निमोनिया भएको छ । भित्र सबैजना अटाउने ठाउँ छैन’, उनले भने, ‘पालो गर्दै खान्छौं। रात नपरे पनि हुन्थ्योजस्तो लाग्छ।’ भूकम्पले साँखुमा मात्रै एक सय १५ जनाको ज्यान लिएको थियो।
‘राहत दिँदा पनि दाइलाई दिन्छन्, भाइलाई छुटाउँछन् यहाँका नेताहरूले’, स्थानीय भरत श्रेष्ठले भने, ‘खै कसरी जीवन गुजारा गर्ने हो, पत्तो छैन। हाम्रो आँगनमा कहिले घाम लाग्ने हो, ठेगान छैन।’

भूकम्प गएको केही महिनापछि सरकारले वितरण गरेको १५ हजार पनि पहुँचवालाले मात्रै पाएकाले गरिब भोकै बस्न बाध्य भएको स्थानीयको गुनासो छ। रेडक्रसले वितरण गरेको सात हजार पनि कसैले पाए, कोही रित्तै फर्किए। सरकारले घर बनाउन दिने भनेको रकमका बारेमा पनि कुनै जानकारी छैन अधिकांश भूकम्पपीडित साँखुबासीलाई। अन्नपूर्ण पोष्ट

सम्बन्धित शिर्षकहरु