जनकपुर सोमबार पनि तनावग्रस्त

janakpur jhadapजनकपुर, विराटनगर घटनाको विरोधमा मधेसी मोर्चाले प्रदर्शन गरेपछि सोमबार पनि जनकपुर तनावग्रस्त बनेको छ । प्रहरीसँगको झडपमा रानी भन्सारमा धर्ना दिन पुगेका मधेसी मोर्चाका नेता राजेन्द्र महतो घाइते भएपछि जनकपुरसहित तराई मधेसका विभिन्न जिल्लामा आइतबार पनि प्रदर्शन भएको थियो ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच सोमबार बिहानदेखि बेलुकासम्म झडप भएको छ । जानकी प्रहरीचौकीलाई लक्षित गर्दै प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । बेलुका जानकी प्रहरी चौकी आसपासमा पनि झडप भएको छ ।

झडपका क्रममा प्रहरीले झण्डै एक दर्जन अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर समेत गरेको छ । जनकपुरको गोपाल धर्मशाला वरिपरी आइतबारदेखि नै प्रहरी र आन्दोलनकारीबिच झडप भएको हो ।

प्रहरीको लाठी चार्जबाट १२ जनाभन्दा धेरै आन्दोलनकारी घाइते भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाका नेता संजय सिंहले बताए ।

घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको र केही घाइते निजी अस्पतालहरुमा उपचार गराएर घर फर्केको सिंहले जानकारी दिए। बजारमा हिंडिरहेका सर्वसाधारणहरुसमेत लखेटालखेटमा परेर घाइते भएका छन् ।

प्रहरीले पाँच जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई कुटपिट गरेको र कुटपिटमा दुई जना पत्रकारसमेत परेको बताइएको छ । अभिलप दैनिकका रामहृदय यादव र अपन टेलिभिजनका राकेश मिश्रलाई प्रहरीले कुटपिट गरेको मोर्चाले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएर प्रदर्शनकारीलाई सामूहिक रुपमा कुटेको भन्दै अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेपछि कानुनी प्रक्रिया अनुसार कारवाही गर्ने अधिकार रहेपनि टाउको, छाती, घुँडा लगायतका ठाउँमा लाठी र बुटले हान्नु गलत भएको भन्दै अधिकारकर्मीहरुले आपत्ति जनाएका हुन् ।

सम्बन्धित शिर्षकहरु