चौतारा, वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले ९० प्रतिशतभन्दा बढीको समर्थनमा बनाइएको वर्तमान संविधानले सबै वर्गलाई समेटेको दाबी गरेका छन्।
‘जनताको संविधान जनताकै माझमा’ नेपालको संविधान, २०७२ राष्ट्रव्यापी प्रचार अभियानअन्तर्गत सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा मन्त्री सापकोटाले मधेसका जनता राष्ट्रवादी भएको र केही व्यक्तिको भड्काउमा त्यहाँका जनता आन्दोलनमा लागेको उल्लेख गरे ।
उनले भने – संविधानको व्याख्या गरी आम मधेसीको भ्रम चिरेर यथार्थताको बोध गराउन अत्यावश्यक भइसकेको छ ।
मन्त्री सापकोटाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकतालाई कायम गर्न चित्त नबुझ्दा नबुझ्दै पनि राष्ट्रको रक्षार्थ मन्त्रालयको सङ्ख्या वृद्धि गर्नुपर्ने बाध्यता आइपरेको स्पष्ट पार्नुभयो ।
स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा पूर्वसांसदद्वय कृष्णराज श्रेष्ठ र सुभाष कर्माचार्यलगायत विभिन्न पार्टी प्रतिनिधिले पनि संविधानका बारेमा चर्चा गरेका थिएअ।








