मंसिर २३ ।काठमाडौं, मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् । रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् ।
महानगरीय अपराध महाशाखाले नेपाल आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा ती पम्पले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको हो । करिब एक वर्ष अवधिमा पेट्रोलपम्पहरूले कम परिणाम इन्धन बेचेर करिब एक करोड रुपैयाँभन्दा बढी कमाएका हुन् ।
प्रहरीले चार्टर्ड एकाउन्टेन्टमार्फत आयल निगमको विवरण र पम्पहरूले गरेको ठगीको परिणामको हिसाब निकालेको थियो । सोही आधारमा बिगो दाबी गरी उनीहरूविरुद्ध ठगी मुद्दा चलाइने महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले बताए ।
अपराध महाशाखाले ६ असोजमा २३ पेट्रोलपम्पमा छापा हानेको थियो । तीमध्ये १३ वटामा इन्धनको परिणाम मिटरमा देखाएभन्दा कम वितरण हुने सिस्टम जडान गरेको खुलेको थियो । प्रहरीले सातवटा पम्पका सञ्चालक तथा मिटर बिगार्ने डिजिटल प्रविधि जडान गर्ने पाँचजनालाई पक्राउ गरी थुनामा राखेको छ । भारतीय नागरिकहरू नसिम सिद्दिकी, अयुब आलम, हमिद हुसेन, मोहम्मद अबरार र रौतहटका सेख इम्तिहास पक्राउ परेका हुन् । उनीहरूले नै सबै पेट्रोलपम्पमा चिप तथा रिमोट राख्ने गरेका थिए ।
पम्पको नोजल बिग्रिएमा गुणस्तर तथा नापतौल विभागको सहमतिमा मात्र मर्मत गर्न पाइन्छ । हरेक पेट्रोलपम्पमा विभागको सिल हुन्छ । तर, विभागका कर्मचारीको मिलेमतोविना त्यसरी पम्पमा डिजिटल मेसिन जोडेर ठगी गर्न असम्भव रहेको प्रहरी अधिकारी बताउँछन् । राजधानी आयल स्टोर्स गोपीकृष्णका सञ्चालकद्वय बुद्धरत्न महर्जन र दीपक थपलिया, न्यू पुष्पाञ्जली आयल ट्रेडर्स जयबागेश्वरीका अमिर लामा, पूजाकोठी पेट्रोलपम्प नयाँ बसपार्कका राजीव शर्मा, दिव्या सप्लायर्सका दिव्या श्रेष्ठ, प्रवीण आयल स्टोर्सका प्रवीण कृष्ण श्रेष्ठ र कामाख्या आयल स्टोर्सका वासुदेव दाहाल भने फरार छन् ।
प्रहरीले राजधानीका अन्य १३ वटा पम्पमा पनि छापा हानेको थियो । तर, उनीहरूले पहिले नै सूचना पाएकाले इन्धन ठगी गर्ने प्रविधि हटाएका थिए । प्रहरीले छापा हान्नुभन्दा पहिले नै रिमोट र चिप हटाउने पम्पहरूमा सूर्य ट्रेड लिंक, नागढुंगा, डिएम आयल स्टोर्स, सतुंगल, अम्बे पेट्रोलपम्प नैकाप, न्यु भद्र फ्युल कन्सर्न, कपन, सीता पेट्रोलपम्प नक्साल, हिमाल इन्टरप्राइजेज थानकोट, मकालु पेट्रोलपम्प कलंकी, हिमाल इन्टरप्राइजेज बाणभन्ज्याङ, महापद्मा आयल स्टोर्स दक्षिणढोका, न्यू लामा इन्टरप्राइजेज नारायणटार र हामा फ्यलु सेन्टर स्वयम्भू छन् ।
अपराध महाशाखाले काठमाडौंमा छापा हानेपछि अन्य जिल्लामा पनि यसरी ठगी गर्ने पेट्रोलपम्पका सञ्चालक धमाधम पक्राउ पर्न थालेका छन् । तर, काठमाडौंमा कारबाही थालेलगत्तै धेरै पम्पले भने ठगी गर्ने प्रविधि हटाएका छन् । नयाँ पत्रिका ।








