मंसिर २१ । काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन आरोपमा साढे दुई दर्जनभन्दा बढी व्यक्तिको बैंक खाता रोक्का गरी छानबिन थालेपछि राजनीतिक तरंग पैदा भएको छ। आयोगले शुक्रबार पूर्वमन्त्री, पूर्व सचिव, बहालवाला सचिवलगायत साढे दुई दर्जन उच्चपदस्थ व्यक्तिको बैंक खाता रोक्का गरेर स्पष्टीकरण पत्र काटेेको थियो।
नेकपा एमालेका नेता माधवकुमार नेपालले भ्रष्टाचार आरोपमा असम्बन्धित व्यक्तिहरूलाई पत्र काटेर अख्तियारले फसाउन खोजेको बताएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले अख्तियारले गलत नियतले काम गरिरहेको बताए। ‘अब त अति भो,’ नेपालले भने, ‘अख्तियारले सरकारी ओहोदामा रहेर अकुत सम्पत्ति कमाउनेलाई केही नगर्ने तर संग्लनै नभएको व्यक्तिलाई मुछेर के गर्न खोजेको हो?’
यद्यपि अख्तियारकै एक आयुक्तले भने छानबिनका बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले उक्त विषय प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकले हेरेको बताए। ‘यो विषय प्रमुख आयुक्त र आयुक्त राजनारायण पाठकले हेर्नु भएको हो, मलाई यसबारे केही पत्तै छैन,’ आयुक्त गणेशराज जोशीले भने, ‘सम्पत्ति मूल्यांकन तथा विशेष अनुसन्धान महाशाखामार्फत यसबारे अनुसन्धान हुन्छ।’
अीख्तयारले शुक्रबार मात्रै पूर्वमन्त्रीहरु कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे, टेकबहादुर घर्ती, विद्याधर मल्लिक, छविराज पन्त, राजेन्द्र पाण्डे, रामकुमार श्रेष्ठ, शंकर कोइराला, उमाकान्त झा, ल्हारक्याल लामा, निलम केसी, पूर्वमुख्यसचिव सचिव भोजराज घिमिरे लगायतलाई अकुत सम्पत्ति आर्जन आरोपमा स्पष्टीकरण सोधेको थियो। त्यसैगरी शिक्षा व्यवसायीसमेत रहेका सभासदहरू गीता राणा, उमेश श्रेष्ठ र बाबुराम पोखरेल, व्यवसायीहरू इच्छाराज तामाङ, राजकुमार अग्रवाल, पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का, सचिवहरू शान्तबहादुर श्रेष्ठ, अनुप उपाध्यायलगायतलाई पनि स्पष्टीकरण सोधेको थियो।
अख्तियारको छानबिनमा परेकाले समेत आश्चर्यमा परेको बताएका छन्। पत्रकार तथा साझा यातायातका अध्यक्ष दीक्षितले अख्तियारको पत्रपछि आश्चर्यमा परेको बताएका छन्। नेपाल वायु सेवा निगमको विमानमार्फत नयाँ दिल्ली जान लागेका बेला अख्तियार कर्मचारीले विमानस्थलमै पुगेर पत्र थमाएपछि दीक्षितले टि्वटरमार्फत आश्चर्यमा परेको बताएका छन्। ‘अख्तियारको च.नं. ७३४ पत्रमार्फत साझा यातायात अध्यक्ष हैसियतमा उपस्थित हुन बोलायो, कोठा नम्बर ४१६ मा उपस्थिति जनाउने हतारो, उत्सुकताको सीमा रहेन,’ उनले लेखेका छन्, ‘अख्तियारको पत्रवाहक जागरुक थिए, दिल्ली उड्नै लागेको जहाजभित्र आएर पत्र ठम्याए।’
एमाले नेता सुरेन्द्र पाण्डेले अख्तियारको नियत के हो, आफूले बुझ्नै नसकेको बताएका छन्। ‘अर्थ समितिमा हुँदा नीतिगत रुपमा अख्तियारले के गर्नुहुन्छ, के हुँदैन भन्ने विषयमा प्रमुख आयुक्तसँग चर्काचर्की परेको थियो,’ पाण्डेले नागरिकसँग भने, ‘म सभासद हो, अहिले कुनै कार्यकारी पदमा छैन, सरकारमा हुँदा जे गरेको थिएँ पारदर्शी छ, मलाई बद्नाम गर्ने तरिका अपनाइयो, यो गलत हो।’
अख्तियारको छानविनलाई सत्तारुढ दल एमाओवादीले समेत पूर्वाग्रही भनेको छ। एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले पूर्वाग्रही ढंगले अख्तियारले काम गरिरहेको बताए। ‘यो राजनीतिक पूर्वाग्रहअनुसार आएको हो,’ शर्माले नागरिकसँग भने, ‘लिडरसिपको छवि धमिल्याउनेबाहेक यसको अरु उद्देश्य देखिन्न।’ नागरिक न्यूज








