नेपाली आदीवासी जनजाती मञ्च, अस्ट्रेलिया, अध्यक्ष
संघीय समाज अस्ट्रेलियाको अगुवाईमा हामीले चार डेसेम्बरमा क्यानवेरास्थित पार्लियामेन्ट भवन अगाडी प्रदर्शन गर्न लागेका हौं । यसमा अरु केही संस्थाहरू पनि आबद्ध भएका छन् । त्यसमा नेपाली समूदायहरूको पनि उल्लेख्य सहभागिता रहने छ । हामीले सुन्यौं, त्यहाँ आज पनि नेपाली समूदायका केही मानिसहरूले प्रदर्शन गरेका छन् । उहाँहरूले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको व्यानरमा कार्यक्रम गर्नुभएको छ । त्यो एनआरएनएले चाहिँ गरेको हो । एनआरएन त हामी पनि हौं । यो कार्यक्रम पनि हामी एनआरएन अन्तर्गत नै गर्दछौं ।
उहाँहरूले नेपालका सत्ताभोगीहरूको पक्षपोषण गर्नु भएको छ । भारतलाई आरोप लगाएर अहिलेको समस्या समाधान हुँदैन । उहाँहरुको नाटक मात्रै हो । नेपालको समस्या नेपालमै समाधान खोजिनु पर्दछ । उनीहरूले भारतको विरोध गरेर नेपालका सत्ता राजनीतिको समर्थन गर्नु भएको छ । मधेमा मानिसहरू मरिरहेका छन् उहाँहरूमा कुनै सहानुभुती छैन । मधेस आन्दोलन, थरुहट आन्दोलनर जनजाती आन्दोलन समाधान गर्नुपर्दछ भन्ने कुनै चेतना छैन । एनआरएनए जस्तो पवित्र संस्थालाई अहिले राजनीतिमा मुछिएको छ । दलको भ्रातृ संगठनको रुपमा उपयोग गर्न खोज्नु भएको छ । यो गलत हो ।
नेपालमा भएको मधेस, आदिवासी जनजाती आन्दोलन सम्बोधन नगरी यो समस्या किमार्थ समाधान हुँदैन । सरकारले गम्भीर रूपमा मानव अधिकारको हननन गरेको छ । अन्तर्राष्ट्रिय समूदायलाई त्यसको ध्यानाकर्षण गराउन खोजेका हौं ।
नेपाल सरकारको गैरजिम्मेवारीका कारण मुलुक र जनताले औषधि नपाएर मर्ने अवस्था बनेको छ । आपूर्ति व्यवस्था असहज भएको छ । तर, सरकार भारतलाई गाली गरेर राष्ट्रवादी बनिरहेको छ । मधेसी बेठिक हो भने तह लगाउनु पर्यो । सयौं दिन देखि मधेस ठप्प हुँदा मिलाउन लाग्नु पर्दैन ? यो निकम्मा सरकार हो । यसको विरुद्ध सम्पूर्ण जनता सडकमा निस्कनु पर्दछ ।
हामी जनताले धेरै दुःख पाएका छौं । पञ्चायतकाल, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रा चुल्हा बल्न सकेनन् । राजनीतिक दलहरूको छलछामको शिकार भइरह्यौं । यो अवस्थामा भारतलाई दोष दिएर उनीहरू उम्कन पाउँदैन् । भारतले गरेको हो भने पनि सरकारले नै मिलाउन लाग्नु पर्यो । पछिल्लो समय सरकारी मिडिया प्रयोग गरेर सरकारले डरलाग्दो राष्ट्रघात गरिरहेको छ । गलत प्रचारबाजी गरिरहेको छ । सत्ताको चरम दुरुपयोग गरिरहेको छ । मानव अधिकारको खिल्लि उडाइरहेको छ । यसको भण्डाफोर गर्नैपर्छ । यही कुरा हामीले अन्तर्राष्ट्रिय स्तरमा लाँदैछौं ।
आन्दोलनकारीले स्कूल खोल्न अनुरोध गरेका छन् । विभिन्न मिडिया मार्फत अन्तरवार्ता दिँदा औषधि, एम्बुलेन्स सहज बनाएको बताएका छन् । तर सरकारले बदनाम गराउन घुसपैठ गराइरहेको छ । आन्दोलनकारीहरू जिम्मेवार छन् । आपूर्ति समेत सहज बनाउन सहयोग गरिरहेका छन् ।
विदेशका सरोकारवाला निकाय, कूटनीतिक नियोगहरूले यो कुरा बुझेका छन् । उहाँहरूको विभिन्न निकायहरूले यसको रिपोर्टिङ पनि गरिरहेको छ । सवैले आफ्नो ओपिनियन राख्ने हो । सहि गलत उहाँहरूले छुट्ट्याउनुहुन्छ । असनेपालन्यूजसँगको कुराकानीमा आधारित








