काठमाडौं, मधेसबाट प्रतिनिधित्व गर्ने एमाले सांसद्हरूले मधेसमा चलिरहेको आन्दोलनलाई तत्काल सम्बोधन गर्न माग राख्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसमक्ष बुधबार ज्ञापनपत्र बुझाएका छन्।
मधेसलाई प्रतिनिधित्व गर्ने दर्जनभन्दा बढी सांसदहरुले बुधबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। पत्रमा तराई मधेसको आन्दोलनले गम्भीर मोड लिएको उल्लेख गर्दै यसलाई राजनीतिक तहबाट तत्काल सम्बोधन गर्न सुझाव दिइएको छ।
एमालेका मधेसी सांसदहरुले पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार गरेर प्रधानमन्त्रीलाई लिखित रूपमा दबाब दिने निर्णय गरेका हुन् ।तराईको आन्दोलन नियन्त्रणबाहिर जान लागेको र त्यसमा आफूहरूलाई समेत निर्वाचन क्षेत्र, मतदाता, घर एवं सम्पत्तिको संरक्षण गर्न कठिन भएको भन्दै उनीहरूले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेका मागका सम्बन्धमा पार्टीले तत्कालै स्पष्ट गर्नुपर्ने र त्यसलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने लिखित आग्रह गर्न लागेका हुन् । ती सांसदलाई मधेसी र केही पहाडी मूलका सांसदले समेत साथ दिएका छन् ।
उनीहरूले प्रधानमन्त्रीलाई निर्वाचन समानुपतिक र समावेशी हुनुपर्ने, प्रदेशको सीमा हेरफेर नेतृत्वका लागि नभएर पार्टी, जनता र जनप्रतिनिधिका लागि हुनुपर्ने र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेसमेत तीन कुरामा ध्यानाकर्षण गराएका छन् । पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले अन्नपूर्णसँग भने, ‘ती विषयमा पार्टीको अवधारणा स्पष्ट आउनुपर्छ । अहिलेसम्म आएको छैन । कि त ती माग पूरा हुनुपर्छ, नभए त्यसमा पार्टी र प्रधानमन्त्रीको धारणा के हो भन्ने स्पष्ट अगाडि ल्याउनुपर्छ ।’
यसअघि भदौ १० गते पनि एमालेका मधेसी सांसदहरुले पार्टी अध्यक्षलाई लिखित रूपमा दसबुँदे ज्ञापनपत्र बुझाएका थिए।


![k|wfgdGqL cf]nLåf/f b]zjf;Lsf] gfddf ;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nLåf/f cfh k|wfgdGqL lgjf; afn'jf6f/df b]zjf;LnfO{ ;Daf]wg ub}{ . tl:a/ /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/11/1447596354639_RoS-KtmPM-sambudhan-1-300x250.jpg)






