सर्वदलीय बैठकको यस्तो निर्णय

मंसिर ७।काठमाडौँ, मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीबारे संसद्मा प्रतिनिधित्व गर्ने दलको साझा धारणा बनाउने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको छ ।

बैठकमा आन्दोलनरत मधेसकेन्द्रित दलबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अन्य सबै दलको उपस्थिति रहेको थियो ।

बैठकपछि राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मधेसमा जारी आन्दोलन र संविधान संशोधनका विषय, आपूर्ति व्यवस्थामा देखिएको असहजता, भारतबाट आपूर्ति र पारवहनमा भइरहेको अवरोधका विषयमा प्रधानमन्त्रीले सबै दलको साझा धारणा बनाएर जान प्रस्ताव गरेको जानकारी दिए ।

उनले भने, “बैठकमा धारणा राख्दै विभिन्न दलका नेताले पनि यो समस्या कुनै पार्टीको, सत्तापक्ष वा प्रतिपक्षीको मात्रै नभएर मुलुककै साझा समस्या भएकाले यसमा साझा धारणा बनाएर जानुपर्नेमा सहमत भयो ।”

उनले संसद्मा रहेका प्रमुख दलका शीर्ष नेतासँग फेरि बसेर थप छलफल गर्ने जानकारी दिए । विषयमा छलफल भएपनि साझा धारणा भने नबनेको उनको भनाइ थियो ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा देशको परिस्थिति गम्भीर, जटिल बन्दै गएकोमा सबै दलको एकमत रहेको बताए ।

अहिलेको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएर एकताबद्ध भएर समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै दलबीच समान मत रहेको पनि उनले जानकारी दिए।

उनले भने, “वार्ताका माध्यमबाट सहमति निकाल्न पनि ठोस रुपमै छलफल गरौँ, आजको छलफल पर्याप्त नभएकाले ठोस निश्कर्ष निकाल्ने गरी फेरि तुरुन्त अर्को छलफल गर्ने सहमति भएको छ ।”

राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले आजको बैठकमा प्रधानमन्त्री मधेस समस्या समाधानका लागि गम्भीर देखिएको र उनले कडा रुपमा कुरा राखेको जानकारी दिए।

सम्बन्धित शिर्षकहरु