काठमाडौं, भारतको एउटै जिल्लाका २० हजार जनासँग नेपाली नागरिकता रहेको तथ्य भारतीय पत्रिकाले सार्वजनिक गरेका छन् । भारतीय पत्रिका ‘नवभारत टाइम्स’ ले प्रकाशित गरेको समाचार अनुसार नेपाली सीमावर्ती सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोंडा, श्रावस्ती र लखिमपुर लगायतका ठाउँका भारतीयसँग नेपाली नागरिकता रहेको तथ्य उजागर गरेको हो । अखवारमा उल्लेख गरिएअनुसार भारतको एउटै जिल्लाका २० हजार जनासँग नेपाली नागरिकता रहेको छ ।
यसरि नागरिकता लिनेहरुमा भारतको उत्तरप्रदेश राज्यको महाराजगंज जिल्लामा बसोबास गर्नेहरु बढी रहेका छन् । समाचारमा भारतसँगको सीमावर्ती जिल्लाहरुमा दोहोरो नागरिकताधारीको संख्या उल्लेख्य मात्रामा रहेको पनि पुष्ठि हुन आएको छ । यतिमात्र नभएर उनीहरुसँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको सो पत्रिकाले स्पष्ट पारेको छ । पत्रिकामा भनिएको छ, ‘महाराजगंज जिल्लाको ८० किलोमिटर लोमो सीमा नेपालसँग जोडिएको छ, जहाँ ४० गाउँका लगभग २० हजार नागरिकसँग दोहोरो नागरिकता छ ।’
उनीहरुले निर्वाचनका समय दुबै देशमा मताधिकार प्रयोग गर्दै आएको हुनसकने आशंका गरिएको छ । उक्त पत्रिकाले आगामी डिसेम्बरमा हुन लागेको स्थानीय निर्वाचनलाई आधार बनाएर यस्तो समाचार प्रकाशित गरेको हो ।
समाचारमा दोहोरो नागरिकता लिनेहरुलाई एउटा समस्याका रुपमा चित्रण गरिएको छ । नेपालको नागरिकता लिइसकेका भारतीयलाई भारतमा मताधिकारबाट बञ्चित गरिनुपर्ने आसय समाचारमा उल्लेख गरिएको छ ।








