कात्तिक २४ । काठमाडौं, नेपाल आयल निगमले मंगलबारबाट निजी र सार्वजनिक सवारीसाधनलाई इन्धन उपलब्ध नगराउने भएको छ । निगमले सोमबार सुरक्षा निकायबाहेकका सवारीसाधनलाई इन्धन दिन नसक्ने निर्णय गरेको हो, नयाँ पत्रिका लेख्छ।
नियमित तथा वैकल्पिक मार्गबाट इन्धन नआएको र थोरै भएको मौज्दात पनि सकिएकाले सुरक्षा निकायबाहेक अन्य सवारीलाई इन्धन दिन नसकिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए । ‘हामीसँग मौज्दात इन्धन छैन, थोरै भएको मौज्दात सेक्युरिटीका लागि राख्छौँ,’ उनले भने, ‘आज (सोमबार) सम्मको विषम परिस्थिति र आपत्का वेलासम्म हामीले इन्धन आपूर्ति गर्न सक्यौँ, अब सक्ने अवस्थामा छैनौँ ।’
निगमका निर्देशक मुकुन्द घिमिरेले पाँच दिनयता भन्सार छुटेर एउटा पनि इन्धन बोकेका ट्यांकर नआएको र मौज्दात पनि सकिएकाले अप्रिय निर्णय लिनुपरेको बताए । ‘हामीसँग तेल छैन, भन्सार छुटेर पाँच दिनयता ट्यांकर आएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा सबै सवारीसाधनलाई इन्धन दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका हौँ ।’
कार्यकारी निर्देशक खड्काले चीनबाट आउने अनुदानको तेल सुरक्षा निकायलाई केही दिन वितरण गर्न पुग्ने र थप तेल नभएको पनि बताए । सुरक्षा निकायलाई वितरण गर्न पनि धेरै तेल नरहेको उनको भनाइ छ । ‘हामीसँग भएको मौज्दातले केही दिनका लागि सुरक्षा निकायलाई दिन सकिन्छ,’ उनले भने । चीनबाट सोमबारसम्म ६ लाख ५५ हजार लिटर तेल आई वितरण भएको र थप तेल साताभित्रै आइसक्ने निगमले जनाएको छ ।
खड्काले सरकारबाट स्पष्ट रूपमा वैकल्पिक उपायबाट इन्धन ल्याउने अधिकार नपाएको पनि दाबी गरे । ‘हामीलाई सरकारले वैकल्पिक रूपमा इन्धन आयात गर्न नियमानुसार गर्नु भन्ने निर्देशन छ, स्पष्ट रूपमा अधिकार दिइएको छैन,’ उनले भने ।
सरकारले कम्पनी र मूल्य तोकेरै इन्धन ल्याउन निर्देशन नदिएसम्म निगम आफैँ अघि नसर्ने उनको भनाइ छ । ‘सरकारले जुनसुकै कम्पनीबाट यो मूल्यमा पेट्रोलियम पदार्थ ल्याउन भनेर निर्देशन नदिएसम्म इन्धन आयात हुने अवस्था मैले देखेको छैन,’ उनले भने । वैकल्पिक मार्गबाट इन्धन ल्याउन विराट पेट्रोलियम कम्पनीलाई दिएको अनुमति विवादास्पद भएको संकेत गर्दै उनले निगमलाई तेल दिन अन्य कम्पनीले सजिलै आँट गर्न नसक्ने पनि दाबी गरे ।
निगमले २१ असोजमा आशयपत्र माग्दै देशी–विदेशी कम्पनीबाट इन्धन खरिद गर्न पहल थालेको थियो । तर, हालसम्म कुनै पनि कम्पनीले निगमलाई इन्धन उपलब्ध गराएका छैनन् । ‘हामीले वैकल्पिक उपायबाट इन्धन ल्याउन खोजेको प्रयास सार्थक देखिएन,’ उनले भने । सोमबार ५० भन्दा बढी ट्यांकर भन्सार प्रवेश गर्ने जानकारी आए पनि एउटै ट्यांकर नआएको निर्देशक घिमिरेले दाबी गरे । आइतबार भने काँकडभिट्टा नाकाबाट ३५ ट्यांकर भित्रिएका थिए ।
दुई विकल्प काम लागेन
पेट्रोलियम पदार्थ आपूर्ति गर्न सरकारले दुई विकल्प ल्याएको थियो । पहिलो विकल्पअनुसार आयल निगमले १५ दिनका लागि इन्धन ढुवानी गर्न तीन दिनको समय राखेर २१ असोजमा आशयपत्र मागेको थियो । आयशपत्र पेस गरेका २२ मध्ये विराट पेट्रो, आइसिटी र पेट्रोम्याक्स कम्पनीसँग निगमले इन्धन ल्याउन सम्झौता गरेको थियो । विराट पेट्रोले आयल निगमसँग गरेको सम्झौता खारेजी गरेको घोषणा गरेको छ । अन्य दुई कम्पनीले हवाई इन्धन ल्याउने प्रयास गरे पनि ल्याइनसकेको निगमले जनाएको छ ।
दोस्रो विकल्पमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी विदेशबाट पेट्रोलियम पदार्थ ल्याउन निजी क्षेत्रलाई खुला गरेको छ । तोकिएको गुणस्तरको पेट्रोलियम ल्याई निजी क्षेत्रले आफ्नै हिसाबले मूल्य तोकी सोझै उपभोक्तालाई बिक्री गर्न सकिने व्यवस्था गरिएको छ । तर, एउटा पनि कम्पनीले तेल ल्याएका छैनन् ।
भन्सारपारि ट्यांकरका लाइन
आयल निगमका अनुसार तराईका सीमानाकामा इन्डियन आयल कर्पोरेसन आइओसीबाट डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास लोड भएका ट्यांकर–बुलेटको लाइन लागेको छ । निगम निर्देशक घिमिरेका अनुसार नेपाल–भारत ६ सीमानाकामा पेट्रोलका ६६, डिजेलका दुई सय ५१ र मट्टीतेलका चार ट्यांकर लाइनमा छन् । त्यस्तै, हवाई इन्धन बोकेका १५ र ग्यास बोकेका तीन सय २१ बुलेट लाइनमा छन् ।








