कात्तिक २१ ।काठमाडौं, चीनबाट मगाएको ३५ हजार थान ‘ब्लड ब्याग’ भारतीय सीमानाका रक्सौलमा अड्किएपछि देशभर रक्त संकलन कार्य प्रभावित भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)सँग भएका केही ‘ब्लड ब्याग’को आयु तीन साताभन्दा कम छ, जबकि संकलित रगतको आयु ३५ दिनसम्म हुन्छ ।
ब्लड बैंकका शाखा अधिकृत ईश्वरी पन्तले रगतको आयु जति ‘ब्लड ब्याग’को आयु नभएपछि संकलन कार्य केही प्रभावित भएको बताए । उनले तत्काल प्रयोग गर्नेगरी कम आयु भएका ‘ब्लड ब्याग’मा छिटोछिटो ‘रिप्लेसमेन्ट’ गरी काम चलाएको जानकारी दिए ।
‘अहिले धेरै मौज्दात रहने गरी रगत संकलन गरेका छैनौँ । किनकि ‘ब्लड ब्याग’को आयु नै कम छ । त्यसैले संकलन गरेर धेरै दिन राख्ने अवस्था छैन । तत्काल प्रयोग हुनेहरूका लागि मात्रै दिने गरेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने ।
ब्लड बैंकमा भएको रगत अभावलाई सहयोग गर्न तथा आफूकहाँ भएका बिरामीलाई चाहिने रगत परिपूर्ति गर्न भन्दै बिहीबार वीर अस्पतालले सञ्चालन गर्न लागेको बृहत् रक्तदान कार्यक्रम पनि ‘ब्लड ब्याग’ नै नपाएपछि रोकिएको थियो । ‘ब्लड बैंकमा म्याद गुज्रन लागेका ब्याग रहेछ । बाहिर बजारमा खोज्दा कहीँ पाइएन । अन्तत: रगत संकलन कार्यक्रम नै स्थगित गर्नुपर्यो,’ अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले नयाँ पत्रिकासँग भने । उनले ब्लड बैंकमा पनि म्याद सकिन १० दिनभन्दा बढी नभएका ‘ब्लड ब्याग’हरू भए पनि आफूले नल्याएको बताए ।
जिल्लाका रक्तसञ्चार शाखामा पनि केन्द्रबाटै ‘ब्लड ब्याग’ पठाइने भएकाले उपत्यकामा जस्तै जिल्लाहरूमा पनि म्याद गुज्रन लागेका ‘ब्लड ब्याग’मै रगत संकलन गर्नुपर्ने बाध्यता छ ।
ब्लड बैंकका अधिकृत पन्तले चीनबाट आउँदै गरेको ३५ हजार थान ‘ब्लड ब्याग’ रक्सौल नाकामा थुनिएको भन्दै तत्कालको समस्या टार्न पाँच हजार थान सिंगल ब्याग हवाईमार्गबाट झिकाउन लागिएको बताए । उनले तीन–चार दिनभित्र हवाईमार्गबाट ल्याउन लागिएको ब्यागले दुई महिना टार्न सकिने दाबी गरे ।
रगत संकलन दुईतिहाइले घट्यो
नाकाबन्दीले इन्धन आपूर्ति र दैनिक क्रियाकलाप नराम्ररी प्रभावित भएपछि रगत संकलनसमेत प्रभावित भएको छ । दैनिक औसत तीन सयभन्दा बढी युनिट रगत संकलन हुने केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकमा अहिले सय युनिट रगत संकलन हुन पनि गाह्रो छ ।
‘सबैतिर अस्तव्यस्त भएका वेला रक्तदानतिर मानिसको ध्यान कम जाँदोरहेछ हो वा इन्धन अभावले हो, हामीले सोचेजति रक्त संकलन हुन सकेको छैन,’ ब्लड बैंकका अधिकृत पन्त भन्छन् । तर, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्त संकलनमा अभाव नहुने दाबी गर्दै कर्मचारीको लापरबाहीका कारण अभाव भएको दाबी गरे । उनले रगतको जिम्मा लिएका रेडक्रसका पदाधिकारीले सेवाभन्दा पनि आर्थिक दाउमा पल्किएका कारण समस्या भएको आरोप लगाए ।
४० हजार सरकारी ‘ब्लड ब्याग’ फालियो
आमसर्वसाधारणले रगत लिने वेला तिर्नुपर्ने शुल्कमा सहुलियत प्रदान गर्न भन्दै दुई वर्षअघि सरकारले प्रदान गरेको दुई लाख थान नि:शुल्क ब्यागमध्ये करिब ४० हजार थान ब्याग खेर गएको छ । ती ब्यागको अन्तिम म्याद १५ अक्टोबर र २० अक्टोबरसम्म थियो ।
ब्यागको व्यवस्थापन तथा वितरण गर्ने जिम्मा लिएको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकले करिब २० प्रतिशत ब्याग प्रयोग हुन नपाई म्याद गुज्रिएको बताएको छ । ‘नि:शुल्कमध्ये करिब २० प्रतिशत प्रयोग हुन नपाई म्याद गुज्रिन पुग्यो,’ ब्लड बंैकका अधिकृत पन्तले भने । उनले ब्लड बैंकबाट झिकाइएको ब्याग र सरकारबाट प्राप्त ब्याग एकैपटक आउँदा सबै ब्याग प्रयोग नभएको दाबी गरे । रगत अभियन्ता कर्माचार्यले नि:शुल्क ब्यागको प्रयोग आधा पनि नभएको दाबी गरे । उनले सरकारले नि:शुल्क उपलब्ध गराएका कतिपय ब्यागबाट समेत शुल्क लिएको भन्दै सरकारी राहतको समेत ब्लड बैंक प्रतिनिधिले दुरुपयोग
गरेको बताए ।
तीन अर्बभन्दा बढीको औषधि रक्सौलमा थुनिएको छ
हरिप्रसाद बिडारी, महासचिव, नेपाल औषधि व्यवसायी संघ
भारतबाट औषधि बोकेर आएका चार सय २५ वटा ट्रक सीमानाका रक्सौलमा थुनिएको थियो । त्यसमध्ये ५० ट्रक रक्सौलको नाका परिर्वतन गरी सुनौलीबाट नेपाल छिराइयो । रक्सौलमा अझै तीन सय ७५ वटा औषधि बोकेका ट्रक थुनिएका छन् । जसमा तीन अर्बभन्दा बढीको औषधि छ ।
नेपाल भित्र्याइएका औषधिको मुख्य गोदाम वीरगन्जमा छ । वीरगन्जको आन्दोलनले त्यहाँका औषधि पनि अन्यत्र लैजान सकिएको छैन । करिब एक हजार पाँच सय कार्टुन स्लाइन त्यही गोदाममा थुनिएको छ । क्याल्सियम ग्लुकोनेट, एक्टोपिन सल्फेट, ह्युमन इन्सुलिनजस्ता जीवनरक्षक अत्यावश्यक औषधिसमेत थुनिएको छ । सरकारले यस्ता अत्यावश्यक औषधिलाई वितरण गर्ने व्यवस्था मिलाउनुपर्छ । दुई महिनालाई पुग्ने औषधि हामीसँग छ, तर गोदाममा रहेका औषधिहरू ढुवानी गर्न इन्धन मिलाउनुपर्छ ।
बिरामीको संख्या आधाले घट्यो
भारतले गरेको नाकाबन्दीको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ । अस्पतालहरूमा बिरामीको संख्या आधा घटेको छ । औषधि तथा अत्यावश्यक उपकरण अभाव हुन थालेको छ ।
दैनिक एक हजार ६ सयदेखि एक हजार आठ सयसम्म बिरामी आउने वीर अस्पतालको ओपिडीमा अहिले ६ सयदेखि आठ सय बिरामी उपचारका लागि आउने गरेका छन् । सवारीसाधन नचलेपछि बिरामीहरू नआएको अस्पतालले निष्कर्ष निकालेको छ । अर्को सरकारी अस्पाल त्रिवि शिक्षण अस्पतालमा पनि बिरामीको संख्या आधाले घटेको छ । दैनिक करिब एक हजार सात सय बिरामी आउने शिक्षण अस्तपालको ओपिडीमा अहिले सात सयदेखि नौ सयसम्म बिरामी आउने गरेको अस्पतालका निर्देशक डा. दीपक महराले बताए ।
मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालका निर्देशक डा. विमल थापाका अनुसार दैनिक एक हजार बिरामीको परीक्षण गर्ने गरेकोमा अहिले आठ सयजति मात्रै आउने गरेका छन् । पहिले टिकट नपाएर दुई–तीन सय बिरामी फर्कने गरेको बताए ।
वीर अस्तपालका निर्देशक डा. स्वयंप्रकाश पण्डित बिरामीलाई जस्तै समस्या चिकित्सक तथा कर्मचारीलाई समेत भएको बताउँछन् । उनले इन्धन अभावमा कर्मचारी तथा चिकित्सकहरूको आवागमनमा कठिनाइ देखिएको बताए । ‘चिकित्सक तथा कर्मचारीको आवागमनमा असर परेको छ । हामीले केही सवारीसाधान स्टाफ लिन गुडाएका छौँ, तर त्यो कामचलाउ मात्रै छ । समस्या छ,’ पण्डितले नयाँ पत्रिकासँग भने, ‘बजारमा औषधिको पनि अभाव देखिएको छ ।’
तराई मधेसमा करिब तीन महिना र पहाडमा डेढ महिनादेखि विद्यालय बन्द छ । मधेसी मोर्चाको आन्दोलन नरोकिँदा त्यस क्षेत्रका झन्डै १८ लाख बालबालिका शिक्षाबाट वञ्चित भएका छन् । मधेस आन्दोलन र भारतको नाकाबन्दीले इन्धन अभावको कारण देखाई पहाडी क्षेत्रमा पनि करिब डेढ महिनादेखि पठनपाठन रोकिएको छ । यसले उपत्यकामा आठ लाख बालबालिका र पश्चिमाञ्चल क्षेत्रका पहाडी भेगका करिब चार लाख बालबालिका अहिले पढ्नबाट वञ्चित भएका छन् ।
यतिखेर विद्यालय तहका मात्रै करिब ३० लाख बालबालिका पढ्नबाट वञ्चित भएका छन् । विद्यालय तहभन्दा माथिका विद्यार्थीको त कुरै छाडौँ, विश्वविद्यालयहरूको शैक्षिक क्यालेन्डर एक वर्ष ढिलाइ हुने देखिएको छ । सिटिइभिटीले पनि त्यस्तै खालको सूचना जारी गरिसकेको छ । समय र तनाव मात्रै होइन, जति दिन बन्द भए पनि अभिभावकले शुल्क तिर्नुपर्ने बाध्यता छ । त्यसैले नाकाबन्दीले आर्थिक, शैक्षिक र मानसिक क्षति बढाएको छ ।








