नेपालमा अन्तर्राष्ट्रिय ह्याकर सक्रिय

ATM-615x330कात्तिक १६ । काठमाडौं, नबिल बैंकको एटिएमबाट डाटा चोरी गर्न लागेको अवस्थामा बुल्गेरियन नागरिक भेसिलिन जर्जलेर पक्राउ परेका छन् । चिप रिडर, ल्यापटपलगायत डिभाइससहित उनलाई गत साता प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो, आजको नयाँ पत्रिका दैनिक लेख्छ।

डाटा चोरी गरेर बैंक खाता ह्याक गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए । एटिएममा शंकास्पद गतिविधि गरेको देखेपछि बैंक गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए ।

प्रहरीका अनुसार जर्जलेरले एटिएमभित्र ल्यापटपलगायत डिभाइस प्रयोग गरेर डाटा चोर्न खोजेका थिए । तर, डाटा चोरे–नचोरेको खुलिसकेको छैन । उनी एटिएम ह्याक गर्ने अन्तर्राष्ट्रिय गिरोहकै सदस्य भएको हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

यसअघि पनि अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । एउटै देशका भएकाले उनलाई पनि एउटै गिरोहले पठाएको हुनसक्ने प्रहरी आशंका छ ।

गत १० चैतमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले बुल्गेरियाकै नागरिक पेट्रोस्लाभ रिस्टोभलाई पक्राउ गरेको थियो । उनको साथबाट १८ लाख नेपाली, ५७ हजार युरो, ४० हजार अमेरिकन डलर र करिब दुई सयवटा कार्ड बरामद भएको थियो । नक्कली एटिएम कार्ड प्रयोग गरेर नेपाली बैंकका एटिएम मेसिनबाट उनले दुई करोडभन्दा धेरै रकम निकालेका थिए । तर, नेपाली नभई विदेशीको खाताबाट उनले पैसा निकालेका थिए ।

मास्टर कार्ड र भिसा कार्डहरूको डाटा चोरर नक्कली एटिएम कार्ड बनाई उनले पैसा निकाल्दै आएका थिए । उनको गिरोहले पटक–पटक नेपालबाट त्यसरी पैसा निकालेर विदेशमा पठाएको अनुसन्धानमा खुलेको थियो । फेरि बुल्गेरियन नागरिक नै पक्राउ पर्नुले नेपालमा अन्तर्राष्ट्रिय ह्याकरहरू सक्रिय रहेको देखाएको छ ।

एटिएम तथा बैंकिङ कारोबारको सुरक्षामा चुनौती बढ्दै गएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल बताउँछन् । एटिएमबाट पैसा चोर्ने तथा बैंक खाता नै ह्याक गर्नेजस्ता घटनामा विदेशी नागरिक सक्रिय देखिएको र पटक–पटक आफूहरूले पक्राउ गरेर कारबाही पनि गरिएको डिआइजी मल्लले बताए ।

एटिएम ह्याक गर्ने विदेशी नागरिक यसअघि धेरैपटक पक्राउ परिसकेका छन् । उनीहरूले प्रायस् एटिएमका डाटा चोरी गरी नक्कली एटिएम कार्डमा ती डाटा राखेर पैसा निकाल्ने गरेका छन् ।

गत वर्ष मंसिरमा नै टर्किस नागरिक मेहमत गुलेमलाई प्रहरीले नक्कली एटिएम र नक्कली एटिएम प्रयोग गरी निकालिएको २६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनीहरूले पनि नेपालका एटिएम प्रयोग गरी विदेशी बैंकमा खाता रहेका विदेशीकै पैसा चोरी गर्दै आएका थिए । पाकिस्तानी, चिनियाँ तथा नाइजेरियन नागरिकसमेत नेपालमा एटिएम ठगीमा पटक–पटक पक्राउ परिसकेका छन् ।

गत वर्ष १७ फागुनमा पनि दुई बंगलादेशी नागरिक पक्राउ परेका थिए । अहमद बिन मुसा र साह मोजाविनलाई सिआइबीले पक्राउ गरेको थियो । तीन सय रुपैयाँ खातामा राखी इन्टरनेट बैंकिङको सुविधा लिई आफैँ ब्यालेन्स बढाएर उनीहरूले १० हजारका दरले पैसा निकाल्ने गरेका थिए ।

साढे दुई वर्षपहिले पनि नक्कली एटिएम बनाई पैसा निकाल्ने तीनजना महेन्द्रनगरबाट पक्राउ परेका थिए । सुरेशसिंह विष्ट, चन्द्रसिंह विष्ट र मोहनसिंह विष्ट पक्राउ परेका थिए । धनगढी क्षेत्रका एटिएमबाट उनीहरूले नक्कली एटिएम प्रयोग गरी पैसा निकाल्दै आएका थिए । उनीहरूले एक भारतीय नागरिकबाट तीन एटिएम कार्ड खरिद गरेको बताएका थिए । सो घटनाका मुख्य नाइके पनि पक्राउ परेका छैनन् ।

कसरी बच्ने?
नेपालमा एटिएमको प्रयोगसँगै ठगीका घटना पनि बढेका छन् । अन्तर्राष्ट्रिय ह्याकरसमेत सक्रिय रहँदै आएकाले बैंक र ग्राहक दुवै सतर्क हुनुपर्ने प्रहरीको भनाइ छ ।

मेगनेटिभ स्ट्रिभ प्रविधिका एटिएम कार्ड धेरै नक्कली बन्ने र डाटासमेत चोरी हुने भएकाले चिप कार्ड प्रयोग गर्न प्रहरीको सुझाब छ । बैंक खाताको स्टेटमेन्ट नियमित रूपमा बुझ्नुपर्ने तथा एटिएम प्रयोग गर्दा सजगता अपनाउनुपर्ने हुन्छ ।

एटिएम मेसिनमा अन्य कुनै डिभाइस जडान गरिएको देखेमा डाटा चोरी गर्न राखिएको हुनसक्ने भएकाले त्यसमा सतर्कता अपनाउनु जरुरी हुने प्रहरीको भनाइ छ । नियमित रूपमा पिन नम्बर परिवर्तन गरी एसएमएस अलर्ट सिस्टम राख्दा एटिएम ठगी नियन्त्रण हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

सम्बन्धित शिर्षकहरु