राष्ट्रपति यादवको भव्य बिदाइ

rastrapati-bidaiकात्तिक १३ । काठमाडौँ,  नयाँ राष्ट्रपतिमा विद्यादेवी भण्डारीले शपथ र पदभार ग्रहण गरेकै दिन निवर्तमान राष्ट्रपति डा। रामवरण यादव शीतलनिवासबाट बिदा हुँदै निजी निवासमा सरेका छन् । बिहीबार बेलुका विशेष कार्यक्रमबीच शीतलनिवासमा नयाँ राष्ट्रपति, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, उपराष्ट्रपति परमानन्द झाले यादवलाई बिदाइ गरेका हुन्,नयाँ पत्रिका लेख्छ।

बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले यादवलाई उपहारस्वरूप बुद्धको मूर्ति दिएका थिए । बिदाइ कार्यक्रमलगत्तै यादव सात वर्ष तीन महिनाको कार्यभार पूरा गरी ललितपुर बागडोलको निजी निवास सरेको जानकारी यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिए । कार्यक्रममा उपस्थित उपप्रधानमन्त्रीहरू, मन्त्रीहरूसहितका नेताहरूले फूलको गुच्छा दिई यादवलाई बिदाइ गरेका थिए । नेपाली सेनाले पनि बिदाइ कार्यक्रममा चाँँदी कलस, राष्ट्रपति कार्यालयका सचिवले आर्ट प्रदान गरेका थिए ।

यादव ७ साउन ०६५ मा कांग्रेसका तर्फबाट नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए । बिदाइलगत्तै उनी सरकारले भाडामा लिएको सरकारी निवास सरेका हुन् । ललितपुरको बागडोलमा रहेको महेश विष्टको घरलाई भाडामा लिएर सरकारले निवर्तमान राष्ट्रपतिका लागि आवासको व्यवस्था गरेको हो । नेपाली सेनाले बुधबारबाट घरको रङरोगनदेखि सरसफाइ र व्यवस्थापनको काम गरेर तयार गरेको थियो । उक्त भवन दुई रोपनी दुई आना क्षेत्रफलमा निर्मित साढे दुई तले रहेको छ । छोरी अनितासहित यादव बिदाइ कार्यक्रमलगत्तै सरकारले उपलब्ध गराएको निवासमा सरेका हुन् । उनको आफ्नै निवास पनि सरकारले उपलब्ध गराएको निवासको नजिक छ ।

सरकारको सुरक्षा निर्देशिकाअनुसार पूर्वराष्ट्रप्रमुखका रूपमा यादवको सुरक्षामा १० वर्षसम्म नेपाली सेनाका सहसेनानीसम्मको कमान्डमा ४० जना प्लाटुन खटिने जानकारी सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले दिए । साथै, नेपाल प्रहरीका पिएसओसमेत खटिनेछन् । १० वर्षपछि सेक्सनस्तरको एकतिहाइ सुरक्षा प्रदान गरिनेछ ।

सक्रिय राजनीतिमा फर्कन्न: यादव
निवर्तमान राष्ट्रपति यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताएका छन् । ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा बिहीबार साँझ प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले सो कुरा बताएका हुन् । हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने उल्लेख गर्दै उनले दौरा, सुरुवाल र ढाकाटोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको उल्लेख गरे ।

आफ्नो निजी निवासमा निवर्तमान राष्ट्रपति यादवलाई कांग्रेस ललितपुरका सभापति एवं सांसद मदनबहादुर अमात्य, कांग्रेस काठमाडौं सभापति एवं सांसद भीमसेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गरेका थिए ।

सम्बन्धित शिर्षकहरु