व्यवस्थापिका- संसदमा नेताहरूले यस्तो भने

sambidhan-sava2काठमाडौं, व्यवस्थापिका संसद् बैठक भर्खरै सुरु भएको छ । बैठकमा विभिन्न पार्टीका नेताहरूले व्यवस्थापिका संसद्मा सभामुख उपसभामुखमा निर्वाचित भएको ओनसरी घर्ती र गंगाप्रसाद यादवलाई कार्य सफलताको शुभकामना दिँदै आफ्ना विचार राखिरहेका छन् ।

पढौँ उनीहरूका धारणाः

सभामुखबाट भेदभाव नहोस

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सभामुख ओनसरी घर्तीले सवै दललाई समान व्यवहार गर्ने विश्वास व्यक्त गरेका छन । नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा शनिबार संसदमा कोइरालाले भने ‘दलगत आधारमा सभामुखले भेदभाव गर्नु हुँदैन भन्ने विश्वास छ ।’ सभामुखसँग प्रमुख प्रतिपक्षी दलले ठूलो अपेक्षा राखेको भन्दै तटस्थ भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मधेस आन्दोलन सम्बोधन गर्ने तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता उनले औल्याए । मधेसी मोर्चासँग वार्ता गर्न गठित समितिमा भने कांग्रेस नबस्ने उनले स्पष्ट पारे । ‘समितिमा नबसेर समस्या समाधानमा पहल गर्ने निर्णय हाम्रो पार्टीले गरेको छ’ उनले भने ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका कोइरालाले मधेसी मोर्चासँग छिटोभन्दा छिटो वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने बताए । आपूर्ति व्यवस्था छिटोभन्दा छिटो सहज गर्न मधेसी मोर्चासँग गम्भीर वार्ता गर्नुपर्ने उनले बताए । ‘सरकारले वार्ता गरेर समस्या समाधान गरोस, यसमा हाम्रोपनि पूर्ण समर्थन हुन्छ’ उनले भने । मुलुकको समस्या चाँडै समाधान हुने विश्वास समेत उनले व्यक्त गरे ।

चुनौतीको तालुमा टेक्दै सम्भावना खोज्नु पर्छः बरिष्ठ नेता खनाल
एमाले बरिष्ठ नेता झलनाथ खनालले मुलुकमा चुनौती र सम्भावना एकैसाथ आएको भन्दै चुनौतीको तालुमा टेक्दै सम्भावना खोज्नु पर्ने विचार व्यक्त गरे । आइतबार व्यवस्थापिका–संसद्मा सभामुख र उपसभामुखको कार्यसफलताको शुभकामना व्यक्त गर्दै मुलकमा आइपरेको अप्ठ्यारा परिस्थितिको सामना गर्न सक्ने सफलता मिलोस् भन्ने कामना पनि गरे ।

‘व्यवस्थापिका गठनको ऋङ्खलामा हामीले महिला उपसभामुख पाएका छौं, यो गौरवको कुरा हो । त्यसमाथि सर्वसम्मती हुन सक्नु निकै महत्पूर्ण परिघटना पनि हो’ उनले भने । उनले संविधान समति र सम्झौताको दस्तावेज पनि भएकाले यसको कार्यान्वयनमा जोड दिनु पर्ने पनि विचार व्यक्त गरे ।

राष्ट्रलाई स्वाभिमान बनाउनुको साथै आत्मनिर्भर बनाउँदै सय बढी कानुन ३०० बढी ऐन संशोधन गर्नका लागि सभामुख र उपसभामुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

‘राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिई समस्या समाधान गर्छौं’
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिई समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताले अनेकौं कष्ट सहेर भएपनि मुलुकको शीर उँचो राखेको भन्दै सरकारले त्यसको उच्च सम्मान गर्दै राष्ट्रिय स्वाधिनमा कमजोर नबनाई समस्या समाधान गरेरै छाड्ने दाबी गरे । व्यवस्थापिका– संसद्को शनिबारको बैठकमा बोल्दै थापाले भारतले आपूर्ति व्यवस्थामा गरेको अवरोध छिट्टै हटाउने विश्वास समेत दोहोर्याए ।

‘भारतले पारवहन तथा  आपूर्ति व्यवस्थामा उत्पन्न भएको अवरोध छिट्टै हटाउने कुरा गरेको छ,’ उनले भने ‘त्यसका साथै आपूर्ति व्यवस्था सुचारू गर्न सहयोग गर्ने वचन दिएको छ ।’ उनले भारतले रक्सौल नाकामा अड्किएका गाडी अन्यत्र नाकाबाट पठाउन सहयोग गर्ने वचनवद्धता गरेको समेत बताए  ।

वार्ताको क्रममा दिएको विश्वास र आश्वासनप्रति भारत इमान्दार हुन नसकेको भन्दै उनले सरकारले इन्धन ल्याउन विकल्पको खोजी समेत सुरू गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले सवै सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिइसक्नु भएको छ,’ उनले भने, अव छिट्टै आपूर्ति व्यवस्था सुचारू हुनेछ ।’

उनले संविधान जारी भइसकेको भन्दै सवै दलहरूको एकता र सहकार्यको माध्यमबाट देशलाई संक्रमणबाट पार लगाउनु पर्ने भन्दै संविधान कार्यान्वयनमा सवै इमान्दार हुनुपर्नेमा पनि जोड दिए ।

सरकार प्रजातन्त्र, लोकतन्त्र र विकासप्रति प्रतिबद्ध  भएको भन्दै आन्दोलनमा लागेका दलहरूलाई सहमतिमा आउन पनि आह्वान गरे । ‘सरकारले वार्ता र सहमतिका लागि मार्ग प्रशस्त गरेको छ । मोर्चासँग औपचारिक वार्ता पनि सुरू भइसकेको छ । हामीलाई विश्वास छ, मुलुकको चुनौती सामाना गर्न सदन एक ढिक्का हुनेछ ।’ उनले आन्दोलनरत दलसँग वार्ताका लागि प्रतिपक्षीलाई पनि सहभागी हुन अनुरोध पनि गरे ।

उनले सभामुख पदमा निर्वाचित भएर सभा सञ्चालन गर्न लागेकोमा ओनसरी घर्तीलाई बधाई पनि ज्ञापन गरे । व्यवस्थापिका संसद् बैठक सुरू भएको छ । अहिले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मन्तव्य राखिरहेका छन् ।

चुनौतीको सामना गर्न महिला सक्षम हुन्छन भन्ने प्रमाणित गर्नुहोस
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नयाँ सभामुखसामू चुनौती र अवसर दुवै भएको भन्दै चुनौतीलाई अवसरमा बदल्न सक्ने शक्ति पशुपतिनाथले प्रदान गरुन भन्ने कामना गरेका छन ।
सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा शनिबार संसदमा गिरीले भने ‘आधा आकाश महिलाहरुको प्रतिनिधित्व गर्ने जुन सौभाग्य पाउनुभएको छ । सिंगो नेपालीले ठूलो अपेक्षा गरेका छन । नेपाली जनताले गर्व गर्ने गरी काम गर्नुहोस ।’
चुनौती सामना गर्न महिला पनि सक्षम हुन्छन भन्ने प्रमाणित गर्न उनले शुभकामना दिए ।

मेरो विद्यार्थी सभामुख भएकोमा निकै खुशी छु

एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले आफूले पढाएको विद्यार्थी ओनसरी घर्ती मुलुकको पहिलो महिला सभामुख भएको भन्दै खुसी व्यक्त गरे ।

सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा शनिबार संसदमा महराले भने, ‘ठूला चुनौती छन ।  गौरव गर्ने विषय पनि छन । समस्या समाधान गर्न उहाँहरुलाई सफलता मिलोस । ओनसरी घर्ती निर्वाचित भएकोमा हामी सवै खुशी छौँ । महिला र जनजाति निर्वाचित भएको खुशी छु । म शिक्षक थिएँ, मेरो विद्यार्थी ओनसरी घर्ती हो ।’

उनले सवै इमान्दारिताका साथ लागे मात्र संविधानको कार्यान्वयन हुनेमा पनि जोड दिए ।

सम्बन्धित शिर्षकहरु