असोज २९ । काठमाडौँ, व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुख चयन गर्न शुक्रबार निर्वाचन हुँदै छ । बिहीबारसम्म सहमतिमा चयन नभएपछि बहुमतका आधारमा निर्वाचन हुन लागेको हो ।
संविधानको धारा २९९ मा सहमतिका आधारमा सभामुख, उपसभामुख चयन गर्न नसके बहुमतका आधारमा निर्वाचन गर्ने व्यवस्था छ । संसद् सचिवालयले निर्वाचनसम्बन्धी तालिकासमेत सार्वजनिक गरिसकेको छ, आजको नयाँपत्रिका दैनिकले लेखेको छ।
सचिवालयको तालिकाअनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि २ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गर्नुपर्नेछ । ३ बजेदेखि निर्वाचन गर्ने तयारी सचिवालयको छ । उपसभामुख चयनका लागि भने अपराह्न ५ बजेदेखि निर्वाचन सुरु हुनेछ ।
सभामुखमा ओनसरीको उम्मेदवारी
एकीकृत माओवादीले सभामुखको निर्वाचनमा निवर्तमान उपसभामुख ओनसरी घर्तीमगरलाई उठाउने भएको छ ।
सभामुखको निर्वाचन शुक्रबार हुँदै छ । एमाओवादी स्थायी समितिको बिहीबारको बैठकले पार्टी पोलिटब्युरो सदस्य घर्तीमगरलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेलाई प्रधानमन्त्रीमा सघाउँदा दुई पार्टीबीच एमाओवादीले सभामुख लिने सहमति भएको थियो । व्यवस्थापिका–संसद्मा सभामुखका लागि हुने निर्वाचनमा एमालेसहित सत्तासाझेदार दलले घर्तीमगरलाई मतदान गर्नेछन् ।
घर्तीमगर संविधानसभा निर्वाचनमा रोल्पा–२ बाट विजयी भएकी थिइन् । एमाओवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने २६ जनामध्येमा उनी एक्ली महिला हुन् । उनी पार्टी सचिव वर्षमान पुन अनन्तकी पत्नी हुन् । ३८ वर्षीया घर्तीमगर पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । उनी निर्वाचित भएमा अहिलेसम्मकै कम उमेरकी सभामुख हुनेछिन् ।







