जहाजबाट इन्धन ल्याऊःभारत

Flag-world-indiaअसोज २१ । काठमाडौँ, अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रूपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रणजित रायले वैकल्पिक उपायका रूपमा यस्तो सुझाव दिएका हुन् । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ । 

रायले वैकल्पिक मार्ग भन्दै भारतबाटै हवाईजहाजमा पेट्रोल, डिजेललगायतका इन्धन ल्याउन सकिनेबारे भारतीय आयल कर्पोरेसनसँग कुरा गर्न सुझाए । नेपालले भने सडक मार्गको सुरक्षामा कुनै समस्या नभएकाले पूर्ववत् रूपमै इन्धनको सहजताका लागि पहल गरिदिन राजदूत रायलाई भनेको छ ।

‘विकल्पबारे छलफल गर्दा जहाजको पनि विकल्प छ भन्ने सुझाव आएको हो,’ मन्त्री थापाले अन्नपूर्णसँग भने, ‘चाडबाडका बेला जनतालाई पहिलाजस्तै इन्धन सहज बनाउने तत्काल पहल गर्न मैंले राजदूतसँग कुरा गरेको हुँ ।’

सडकमार्गबाट भारतीय आयल कार्पोरेसनको डिपोसम्म पुगेका नेपाली इन्धन ट्यांकरहरूलाई रित्तै राखेको भारतले आफ्नै जहाज भाडामा लिएर नेपालले इन्धन किन्न खोजे उपलब्ध गराउने संकेत गरेको छ । यसबारे आयल निगमको गत शुक्रबार भएको बोर्ड बैठकमा प्रारम्भिक छलफलसमेत भएको थियो ।

महँगो मूल्य परे पनि जहाजबाट इन्धन ल्याउन गरिएको प्रस्तावलाई बोर्ड अध्यक्ष तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अस्वीकार गरेकाले निर्णय हुन सकेको थिएन । जहाजबाट ल्याउँदा मूल्य बढ्ने र त्यो अपजस बोक्न नसक्ने भन्दै उनले नमानेपछि रोकिएको यो प्रक्रिया बुधबारदेखि फेरि अघि बढाइएको छ ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले सार्वजनिक खरिद ऐनको साधारण अवस्थाअनुसार नभई ‘विशेष परिस्थिति’ अनुरूप इन्धन खरिद गर्न सक्ने गरी आयल निगमलाई अनुमति दिने निर्णय गरेको जानकारी निगमले बुधबार पाएको छ ।

आयल निगमका प्रबन्धनिर्देशक गोपालबहादुर खड्काका अनुसार मन्त्रिपरिषद्को निर्देशन प्राप्त भएपछि निगमले हवाई माध्यमबाट तत्काल इन्धन ल्याउन सकिने सम्भाव्य स्थान र कम्पनीहरूबारे अध्ययन गर्दै उनीहरूसँग सम्पर्क सुरु गरेको छ ।

खड्काले भने, ‘बंगलादेश, भारत, सिंगापुर, संयुक्त अरब इमिरेट्सलगायतका देशका विभिन्न कम्पनीसँग प्रस्ताव माग गरेर उपयुक्त प्रस्तावअनुसार आकाशमार्ग प्रयोग गरी इन्धन ल्याउनेबारे छलफल गरेका छौं ।’ भारतबाट ल्याउँदा भारत सरकारसँग खरिद नगरी ठूला इन्धन व्यापारीसँग खरिदका लागि प्रस्ताव माग गरिने बताइएको छ ।

भारत सरकारसँग खरिद गरे पनि हवाईमार्गबाट ल्याउँदा एक लिटर पेट्रोलको मूल्य २.५ अमेरिकी डलर (दुई सय ६० रुपैयाँ) पर्ने हिसाब आएकाले निजी भारतीय कम्पनी र अन्य देशसँग प्रस्ताव माग गरिने भएको हो ।

एउटा जहाजले ४० टन इन्धन बोक्न सक्ने र त्यसको भाडा प्रतिघन्टा २५ सय अमेरिकी डलरसम्म पर्ने केही अनौपचारिक प्रस्ताव आएको निगम स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षकहरु