काँकडभिट्टा, भारत सरकारले नाकाबन्दी खोल्न निर्देशन दिए पनि पूर्वी नाका काँकडभिट्टाबाट एक सातादेखि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल भित्रिएका छैनन् ।
मधेस आन्दोलनको कुनै प्रभाव नपरेको पूर्वी नाका काँकडभिट्टाबाट खाद्ययन्न, क्लिङ्कर, केमिकल र माछा बोकेका ट्रक मात्र नेपाल भित्रिएकोे मेची भन्सार कार्यालयका सूचना अधिकृत दीपेन्द्र झाले बताए।
भारतीय आयल निगमको सिलगढीस्थित डिपोमा पेट्रोल र डिजेल भर्न गएका ३६ वटा ट्याङ्कर एक साता अघिदेखि पालो नपाएर रोकिएका छन् । मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले आज साँझसम्ममा पेट्रोलियम पदार्थ बोकेका छवटा गाडी नेपाल भित्रिने अपेक्षा गरिएको बताएका छन्।
उनका अनुसार आज दिउँसो डिजेलबाहक तीन वटा, पेट्रोलबाहक दुईवटा र एउटा हवाई इन्धनबाहक गाडीले भारतीय आयल निगमको सिलिगुढी डिपोबाट इन्धन भरेका छन् । ती गाडी अपरान्ह्रतिर भारतीय भन्सार पानीट्याङ्कीमा आइपुग्ने र साँझसम्ममा नेपाल आउने आशा गरिएको भण्डारीले बताए।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भीमप्रसाद अधिकारीले भारतीय नाकाबाट छाडिएका ३६ वटा मालबाहक गाडी आज बिहान नेपाल भित्रिएका छन् । त्यसमा सिमेन्टमा प्रयोग हुने कच्चापदार्थ क्लिङ्कर, आलु, प्याजलगायतका सामान रहेको भन्सार प्रमुख अधिकारीले जानकारी दिएका छन् ।
भारतीय नाका पानीट्याङ्कीमा अझै एकसय ५० भन्दा बढी मालबाहक गाडी नेपाल आउने अनुमति कुरेर एक साता अघिदेखि बसिरहेका छन् । त्यसमा पेट्रोलियम पदार्थ बोकेका गाडी छैनन् ।








