असोज १७ । काठमाडौं, नेपालसँग सीमा जोडिएका नाका खुलाउन भारतले दिएको निर्देशनबारे नेपालको भन्सारले अनविज्ञता प्रकट गरेको छ । ३ असोजमा संविधान जारी भएदेखि भन्सारमा अवरोध भई आयात–निर्यात ठप्प छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भन्सार जाँचपासमा भारतीय पक्षबाट अवरोध खुलेकोबारे जानकारी नआएको बताए ।
‘भारतीय पक्षबाट भन्सार सुचारु गर्नेबारे केही जानकारी आएको छैन,’ उनले भने । भन्सार सुचारु गर्ने विषयमा जानकारी आए तत्कालै नेपालतर्फबाट पनि काम सुरु हुने उनले बताए । भारतपट्टि मालबाहक करिब चार हजार ट्रक, ट्यांकर रोकिएको जानकारीमा आएको उनको भनाइ छ । ‘नेपालपट्टि खाली ट्रकको कुनै लाइन छैन,’ उनले भने ।
लामो समय भन्सारमा अवरोध भई जाँचपास हुन नसकेको ढुंगानाले बताए । भन्सार जाँचपास सुचारु भए छिटो सेवा पुर्याउन थप कर्मचारी खटाइने उनले बताए । ‘हामी फुलफ्लेजमा काम गरेर भन्सारबाट जतिसक्दो छिटो सवारीसाधन पास गराउन तल्लीन छौँ, तर यसका लागि वातावरण बन्नुपर्छ,’ उनले भने, ‘हामी बिहान–बेलुका नभनी काम गरेर भए पनि ट्रक, ट्यांकर पास गराउँछौँ ।’ उनका अनुसार शनिबार कुल दुई सय ९३ वटा ट्रक, ट्यांकर नेपाल प्रवेश गरे । ‘भारतपट्टिकै अवरोधका कारण थप ट्रक, ट्यांकर प्रवेश गर्न सकेका छैनन्,’ उनले भने ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले पनि भन्सार खुलाउने विषयमा कुनै जानकारी नआएको बताए । ‘नयाँ खबर केही छैन, भन्सार खुलाउने विषयमा पनि हामीलाई जानकारी आएको छैन,’ उनले भने । भैरहवा भन्सार कार्यालयमा अवरोध कम छ । ‘भैरहवा भन्सार कार्यालयमा केही दिनदेखि जाँचपास भइरहेको छ,’ कार्यालय प्रमुख लावण्यकुमार ढकालले भने ।
उनका अनुसार शनिबार एक सय ५३ वटा मालबाहक ट्रक, ट्यांकर भित्रिएका छन् । ‘तीमध्ये ६ वटा पेट्रोलियमका ट्यांकर र दुईवटा ग्यास बुलेट पनि छन्,’ उनले भने । भैरहवापारि सुनौलीमा करिब एक हजार मालबाहक ट्रक, ट्यांकर रोकिएर बसेको उनले जानकारी दिए ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले पनि भारतीय पक्षबाट नाका सुचारु गर्ने विषयमा कुनै जानकारी नआएको बताए । नेपालगन्ज–रुपैडिया नाकामा भने तुलनात्मक रूपमा कम तनाव छ । शनिबार सो नाकाबाट २६ मालबाहक ट्रक, ट्यांकर भित्रिएको उनले बताए । ‘त्यसमध्ये १० वटा पेट्रोल बोकेका ट्यांकर छन्, पाँचवटा आलु बोकेका ट्रक छन्,’ उनले भने । रुपैडियामा करिब एक सय ५० मालबाहक ट्रक, ट्यांकर रोकिएको उनले जानकारी दिए ।
आइओसीले सोमबार इन्धन लोड गर्ने आस
इन्डियन आयल कर्पोरेसन आइओसीले सोमबारबाट पूर्ण क्षमतामा इन्धन लोड गरिदिने आयल निगमले आशा व्यक्त गरेको छ । नाकाबन्दीपछि आइओसीले इन्धन लोड बन्द गरेको छ । त्यसयता आइओसीसँग टेलिफोनमा पटक–पटक भएको कुराकानीपछि सोमबारबाट लोडिङ हुने अपेक्षा गरेको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
‘आइओसीसँग पछिल्लोपटक भएको कुराकानीपछि सोमबारबाट पूर्ण क्षमतामा आइओसीले तेल लोड गरिदिने अपेक्षा गरेका छौँ,’ उनले भने । यसअघिका कुराकानीमा आइओसीले तेल लोड गरिदिने बताए पनि डिपोबाट तेल लोड हुने गरेको थिएन । समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।








