काठमाडौँ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नयाँ बनाउने घोषणा गरेका छन । शनिबार राजधानीमा आयोजित प्रशिक्षणमा प्रचण्डले आर्थिक सामाजिक रुपान्तरण गर्ने गरी एकीकृत नेकपा माओवादीलाई अगाडि बढाउने र त्यसमा डा. बाबुराम भट्टराई पनि सँगै रहने विश्वास दिलाए ।
‘बाबुराम भट्टराई व्यक्तिमात्र नभएर सिंगो आन्दोलन हो । अहिलेपनि हाम्रो निरन्तर कुराकानी भइरहेको छ । उहाँ हामीसँगै रहनुहुन्छ ।’ प्रचण्डले भने ‘बाबुरामजीले हामीलाई चुनौती थपिदिनुभएको छ । उहाँलाई हामीले गाली गर्नुहुँदैन ।’
भट्टराईको राजीनामा स्वीकृत नगर्न आफूहरुले संविधान सभा सचिवालय र सभामुखलाई आग्रह गरेको समेत प्रचण्डले जानकारी दिए ।
प्रशिक्षणमा प्रचण्डले दिएको मन्तव्य:
संविधान सभाबाट संविधान आएको छ । यो नेपाली जनताको लगभग ६५ बर्षपछिको उपलब्धी हो । यो नेपाल र नेपलीको विजय हो । यहि परिस्थितिमा नाकाबन्दीको सामना गरिरहेका छौँ । यस्तो परिस्थितिमा बाबुराम भट्राईले पार्टी परित्याग गरेर झन चुनौति थपिदिएका छन । नेपाली समाजको सामाजिक विकासको क्रममा एउटा अध्याय सकिएको छ । अर्को अध्यायको सुरुवात भएको छ । संविधा सभावाट समाजवाद उन्मुख पूँजीवादी लोकतान्त्रिक गणतन्त्रको संविधान बनेको छ ।
पार्टी कसरी अगाडि बढ्छ ? पार्टी नयाँ बन्छ कि बन्दैन ? पार्टी के होला ? भन्ने प्रश्न तेर्सिरहेको बेला बाबरामजी पार्टी परित्याग गरेर नयाँ चुनौति दिएका छन । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । भत्केको घर, लथालिङ भएको घर पुनर्निर्माण हुन्छ कि हुदैन भनेर बाबुरामजीले सवैको सामू चुनौति छोडेका छन । यसको लागि तपाई हामी सवै तयार छौँ भन्ने मलाई लाग्छ । एक वर्षसम्म पार्टीको केन्द्रीय समितिको बैठक चलेर हामीले विश्वमा नाम राख्यौँ । अहिलेसम्म विश्वका कुनै पनि केन्द्रीय समितिका बैठक वर्षदिनसम्म भएका छैनन । तर हाम्रो पार्टीको बैठक एक बर्ष सम्म चल्यो । हामीले केन्द्रीय समितिको बैठक अघि सोचेका थियौँ–अब नयाँ पार्टी बनाउने छौँ । तर यो एक बर्षमा हामीले संविधान सभामा ध्यान केन्द्रित गरेका कारण पार्टीको काम द्रुत गतिमा अगाडि बढ्न सकेन । यसबीचमा हामीले संविधान सभाबाट संविधान बनाउन सडकदेखि संविधान सभासम्म दवाव दिने काम ग¥यौँ । पछिल्लो समय त आफैँले पहलकदमी लियौँ । सम्झौता गरेरै भएपनि संविधान सभाबाट संविधान जारी गर्न सफल भयौँ ।
यदि संविधान नबनेको भए देश दुर्घटनामा पथ्र्यो । हामीले गरेको त्याग, तपस्या, बलिदानी सवै खेर जाने अवस्था थियो । शहीदले बगाएको रगत, परिवर्तनका एजेण्डा, क्रान्तिकारी जनताको इच्छा, आकांक्षा खेर जान्थे । त्यहि भएर पार्टी गौण ठानेर संविधान सभाबाट संविधान निमार्णमा लाग्यौँ । कार्यकर्ताका कयौँ गुनासा छन । पार्टी बिग्रेको भत्केको गुनासो आउँदा पनि पार्टीभन्दा माथि उठेर संविधान निर्माणमा लाग्यो । संविधान सभाबाट संविधान बनेपछि मात्र हटौडा महाधिवेशनको कार्यनीति सफल भयो । यदि संविधान सभाबाट संविधान नबनेको भए हामी, हाम्रो पार्टी असफल हुन्थ्यो । हामीले हेटौडा महाधिवेशनबाट भन्यौँ– अब नेपाली समाज सामन्तवादबाट पूँजीवादमा गयो । तर त्यो कार्यान्वयन हुन बाँकी थियो । अव नेपाली क्रान्तिको रणनीति समाजवादी भयो त भन्यौँ तर गणतन्त्र, धर्मनिरपेक्षता, राजतन्त्रको अन्त्यलाई तर्कको रुपमा राखेका थियौँ । तर सबैको मनमा कतै फेरि राजतन्त्र फर्कने त होइन भन्ने थियो ।
निरकुशतन्त्र फकर्ने अवस्था त आउँदैन, कतै एमाओवादीको हेटौडा महाधिवेशनको सष्लेषण अवस्तुवादी मनोवादी त भएन, प्रतिक्रान्ति भयो भनेर विश्लेषण गर्ने अवस्थामा त पुग्दैनौँ भन्ने जस्ता विषय पलपल सोचिरहेका थियौँ । अघिल्लो संविधान सभामा चिप्लिएको अवस्थाबाट पनि हामीले ज्ञान लिएका थियौँ । जसरी हामीले समाजको विश्लेषण गरेका थियौँ तर त्यसलाई दस्तावेजीकरण गर्न अनिवार्य थियो । यो बनाउन नसक्दा उपलब्धी गुम्ने थियो । संविधान सभाबाट संविधान बनाउने जनयुद्धको मिसन थियो । यो २०५७ सालबाट माओवादी आन्दोलनको मुल कार्यनीतिक नारा थियो । यो समयसम्म माओवादीका १७ सय मात्र शहिद भएका थिए । तर संविधान सभाबाट संविधान बनाउने कार्यनीति ल्याएदेखि ०६४ सालसम्म आउँदा १८ हजार माओवादीको रगत बग्यो । यो एमाओवादीको लागि जीवन मरणको अवस्थामा थियो ।
हामीले संविधान सभाबाट संविधान बनाउनुपर्छ भन्दा काँग्रेस–एमाले संविधान सभाबाट संविधान बनाउन चाहदैनथे । हाम्रा अडान संघीयता, समानुपातिक समावेशी जस्ता जनताका विषय थिए । ठूला–ठूला नेता जनताको पक्षमा कुरा गर्दा भाग्थे । नाम नलिउ सरकार बन्दै छ यो झन बिग्रन सक्छ । संविधान बनाउने क्रममा मुद्धा छोडौँ जनताको हक अधिकारको कुरा छ । नबनाउ संविधान सभाबाट संविधान कहिल्यै संविधान नबन्ने खतरा । यसै गन्जागोलको बीचबाट गोल हान्यौँ । संविधान सभाबाट संविधान बन्दा एमाओवादीको जीत भएको छ । हाम्रा एजेण्डा स्थापित भएका छन । हामीले दिपावली मनाउनुपर्ने हो । तर कांग्रेस–एमाले दिपावली मनाउन हिडे । हाम्राले मनाएनन् ।
संविधानलाई सबैले स्वीकार्दै यसमा भएका कमिकजोरीलाई सच्याएर जान सकिन्छ । जंगलमा सबै जनवार चर्थे, एक दिन तलाउ छेउ एक जनावर चरिरहेको थियो । तलाउमा आपको दाना खस्दा छप्ल्याङ भयो । त्यो जनावर छप्ल्याङ आयो भनेर भाग्यो । यो के हो भनेर कसैले सोधिखोजी गरेन । जब सिंहले खोजी नीति ग¥यो तब त्यहाँ आप खसेको थियो । जुन खाँदा मीठो थियो । संविधान कसैका लागि छप्ल्याङ भएको छ । यसको महत्व र फाइदा बुझनुपर्छ ।
नयाँ पार्टी बनाउँछु:
एमाओवादीलाई नयाँ तरिकाबाट अगाडि बढाउने छु । अब नेता कार्यकर्ताको आशालाई निरासा हुन दिने छैन । यो मेरो भिष्म प्रतिज्ञा हो । पुनः एमाओवादीलाई पहिलाको जस्तो पार्टी बनाउँछु । यस्तो पार्टी नबनाउन्जेलसम्म विश्राम लिने छैन । काँग्रेस–एमालेलाई जिम्मा दिएर मैले पनि गल्ती गरेको हुँ । त्यसको जिम्मा म आफैँले लिन्छु ।
पार्टी बनाउने भनेका थियौँ । यसरी चल्दैन भन्नेमा सबैको एकमत थियो । नयाँ बनाउनु पर्छ भन्ने पनि थियो । बाबुरामजी र म बीच कुरा भएको पनि थियो । सबै माओवादीलाई एक जुट बनाउन पहिला एमाओवादी नयाँ हुनुपर्छ । वैचारिक, सांगठनिक प्रक्रिया पद्धतिमा नयाँ ढंगले सोच्नुपर्छ । अर्को मिल्नै नसक्ने भए अलग हुनपनि सकिन्छ । तर म अलग हुने पक्षमा छैन भनेको थिए । दुबै जना यसमा सहमत थियौँ । ११–१२ गते विस्तृत रुपमा छलफल गर्नुपर्छ भनेका थियौँ ।
तर एकाएक बाबुरामजीले पार्टीनै परित्याग गरे । उनको यो कदमबाट म, पार्टी मात्र होइन देश र जनतापनि आश्चर्यमा परेका छन् । बाबुराम कसैलाई लाग्ला आयो गयो । तर त्यस्तो होइन । बाबुराम समान्य चीज होइन । उनको बारेमा सकारात्मक रुपमा बहस छलफल हुन्छ । आरोप–प्रत्यारोप होइन । हामीले यो पाटीलार्ई नयाँ बनाउन सक्यौँ भने बाबुरामजी पनि आउनेछन । हामीले त अहिले नै आउनोस् भनेका छौँ । तर पनि उनले ठूलो चुनौति थपेर गएका छन । उनी पनि देश र जनताको बारेमा चिन्तित छन । मलाई पनि पीडा भएको छ । (राजधानीमा शनिबार आयोजित पार्टी प्रशिक्षणमा प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश)








