असोज १२। काठमाडौँ, नेपालको राजनीतिक घटनाक्रमसँग जोडिएर आएको ‘अघोषित नाकाबन्दी’ हटाउन भारत सरकारले तत्काल कूटनीतिक परामर्श, सुरक्षास्थितिको समीक्षा र विभिन्न तहमा संवादको उपाय पहिल्याउने बताएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ताका लागि सोमबार मन्त्री निवासमै पुगेका वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले नाकाबन्दीका कारण नेपाली आम जनताले बेहोरेको कठिनाई र समस्या समाधानमा रहनुपर्ने तदारुकताबारे ‘ब्रिफिङ’ गरेका थिए । ‘भारतले नेपालसँग पारवहन तथा ढुवानीका विषयमा कहिँकतै पनि नाकाबन्दी गर्ने निर्णय गरेको होइन,’ मन्त्री स्वराजको भनाई उद्धृत गर्दै थापाले भने, ‘तर सीमावर्ती क्षेत्रमा देखिएको धर्ना जुलुस सहितको असुरक्षित अवस्थाका कारण ढुवानीमा संलग्न व्यवसायीले आफ्नो सुरक्षामा चिन्ता देखाएपछि स्वस्फूर्त पारवहन रोकिन गएको हो । तत्काल हल खोज्न नेपाल भारत दुवै पक्षको पहलकदमी जरुरी छ।’
नाकाबन्दीको विषय फैलँदै गएर द्विदेशीय मामिलाले गम्भीर रूप लिँदै गएपछि भारत सरकारले तत्कालका लागि यो सरोकारमा ‘सेफल्याण्डिङ’ खोजेको संकेत पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।








