असोज १०। काठमाडौँ, संयक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालको नयाँ संविधान शान्ति प्रक्रियाको ‘कोसेढुंगा’ भएको बताएका छन् । राष्ट्रसंघद्वारा शनिबार जारी वक्तव्यमा संविधानलाई नेपाली जनताको ‘आफ्नो निर्णय’ भन्दै सराहना गरिएको छ । संविधान जारी भएकै पर्सिपल्ट राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा संविधानलाई स्वागत गर्न कञ्जुस्याईं गरिएको थियो । छिमेकी मुलुक भारतले संविधानलाई स्वागत नगरेको अवस्थामा करिब त्यही आशयमा राष्ट्रसंघको अघिल्लो वक्तव्य सार्वजनिक भएको थियो ।
लोकतन्त्र संक्रमण र स्थायित्वको लामा प्रक्रियालाई संस्थागत गर्न संविधान जारी भएको राष्ट्रसंघको विज्ञप्तिमा उल्लेख छ । कूटनीतिक विश्लेषकहरूले पहिलो वक्तव्यको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भएपछि राष्ट्रसंघबाट ‘सुधारिएको वक्तव्य’ आएको बताए । समाचार आजको कान्तिपुर दैनिकमा छ ।








