अनि फर्केनन् गच्छदार…

Bijay-Kumar-Gachhadarअसोज ४ । काठमाडौँ, प्रमुख तीन दलसँग ४ बुँदे सहमति गरेर पार्टीमा अनुमोदन गराउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पार्टीभित्रको दबाब खेप्न नसकेपछि संविधानसभा फर्केनन्।

प्रमुख दलका शीर्ष नेतालाई गच्छदारले अन्तिम समयमा निराश हुँदै खबर गरे, ‘संविधान घोषणा समारोहमा म उपस्थित भएँ भने फर्किंदा पार्टी अध्यक्ष नरहने भएँ, त्यसैले म आउन सकिन, माफ गर्नुहोला।’ गच्छदारको यो सन्देशपछि प्रमुख दलका नेता निराश भएर संविधानसभाको औपचारिक समारोह सुरु गर्ने तयारीमा लागे, जबकि गच्छदार फर्कने सम्भावना बढेपछि ५ बजेको कार्यक्रमलाई केही ढिला गरिएको थियो।

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक संविधानसभा फर्कन्छ भन्नेमा प्रमुख दलका नेता आशावादी थिए। फोरम लोकतान्त्रिकले भन्दै आएको ‘मधेस–थरुहट’ शब्द राख्न आइतबार दिउँसो प्रमुख दल सहमत भइसकेका थिए।

प्रमुख दलका नेताले गच्छदारलाई मनाउनका लागि बिहानैदेखि भरमग्दुर प्रयास गरेका थिए। त्यसका लागि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कानुनमन्त्री नरहरि आचार्य र वनमन्त्री महेश आचार्यले बिहानैदेखि प्रयत्न गरे।

ुहिमाल, पहाड र मधेसमा देखिएको सीमांकनको विवाद आयोगमार्फत टुंग्याउने छु भन्ने वाक्यांश लेखेमा आफू सहमति गरेर संविधानसभामा फर्कने सन्देश गच्छदारले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिए। अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइरालासमक्ष गच्छदार आउन सक्नेु जनाउँदै त्यो सन्देश दिए। लगत्तै, प्रधानमन्त्री कोइरालाले वनमन्त्री महेश आचार्य र कानुनमन्त्री नरहरि आचार्यलाई १२ बजेतिर लाजिम्पाटस्थित दाहाल निवास पठाए।

त्यहाँ गच्छदारले गरेको नयाँ प्रस्तावबारे एमाओवादी र नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्रीद्वयबीच कुराकानी भयो। लगत्तै, कांग्रेस पनि सहमत भयो, ओलीसँग पनि त्यहीँबाट फोन गरेर सहमति मागे, ओलीले ‘मधेस–थरुहट’ शब्द राख्न मञ्जुरी जनाए।

यसपछि गच्छदार फर्कने खुसीको सन्देश प्रमुख दलका शीर्ष नेतासमक्ष पुग्यो। त्यसका लागि भेटघाट गर्नुपर्ने भन्दै गोप्य स्थान चयन गर्ने जिम्मा दाहाललाई नै दिइयो। र, जहाँ प्रेस र मिडिया नआउने भन्ने कुरालाई निकै ध्यान दिइएको थियो। अन्ततः दाहालले नै भेटघाटस्थल चयन गरे– गोरखा पुर्ख्यौली घर भएका एक पार्टी कार्यकर्ताको बानेश्वरस्थित निवास।

कांग्रेस, एमाले, एमाओवादी र गच्छदारबीच सोही स्थानमा भेटघाट हुने तय भयो। लगत्तै दाहाल, मन्त्रीद्वय नरहरि र महेश आचार्य बानेश्वर गए, त्यहीं एमाले नेता माधवकुमार नेपाल पनि आए। लगत्तै गच्छदार आइपुगे। सो घर प्रमुख दलबीच वार्ता भइरहने परिचित घर पनि थियो।

२ बजेदेखि ४ बजेसम्म १६ बुँदे सहमतिका हस्ताक्षरकर्तासमेत रहेका चार दलबीच गम्भीर वार्ता भयो। त्यहीँबाट गच्छदारले आफ्ना सभासदलाई सिंहदरबारस्थित संसदीय दलको बैठकमा आउन आग्रह गरे। लामो छलफलमा गच्छदारले आफूलाई रोक्न खोज्ने शक्ति र पार्टीभित्रको अवस्थाबारे सविस्तार प्रमुख दलका नेतासँग अनुभव पनि साँटे। आफ्ना बाध्यता पनि १६ बुँदे सहकर्मी दलका नेतासमक्ष राखे।

अन्ततः त्यहाँ चार बुदेँ सहमति जुट्यो। जसअनुसार पहिलो बुँदामा, ुमधेस–थरुहटसहित पहाडमा देखिएको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समधान गर्नेु भन्ने वाक्यांश लेखियो। त्यसैगरी ७५ जिल्लालाई १–१ निर्वाचन क्षेत्र मानी अन्य स्थानमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने, समावेशी÷समानुपातिकलाई सामाजिक न्यायको बुँदामा समावेश गर्नका लागि संविधान संशोधन गरी टुंग्याउनेसम्मको सहमति भयो।

गच्छदार व्यक्तिगत रूपमा सहमत भएपछि संविधानसभाको निर्धारित ५ बजेको औपचारिक समारोह केही बेर ढिला गरियो। गच्छदारले बानेश्वरको उक्त बैठकमा प्रमुख तीन दलसँग सहमति गरेमा पार्टी फुटाउने धम्की निरन्तर सभासदबाट आइरहेको प्रसंग सुनाएका थिए। ‘म त सहमति गर्न सधैं तयार नै छु, संविधान घोषणा समारोहमा उपस्थित हुने व्यक्तिगत इच्छा पनि छ तर मेरा पार्टीका केही सभासद सहमति गर्नै मान्दैनन्, गच्छदारलाई उद्धृत गर्दै सहभागी स्रोतले नागरिकसँग भन्यो, ‘मैले सहमति गरेँ भने पार्टी अध्यक्षबाट निष्कासन गर्ने तयारीसमेत गरेका छन्।’ यद्यपि, गच्छदारले व्यक्तिगत रूपमा सहमतिका लागि तयार भएको सुनाए। तर, पार्टीमा छलफल नगरी सहमति गर्न नसक्ने जनाएपछि पहिला पार्टीभित्र अनुमोदन गराउने र संसदीय दलको बैठक डाकेर निर्णयमा पुग्ने भन्दै त्यहाँबाट निस्किए।

फर्केर आउने बाचासहित सहमतिको एउटा पत्र लिएर गच्छदार दलको बैठकमा गए भने अर्को पत्र वनमन्त्री महेश आचार्यले राखे। गच्छदार फर्केर आउने आशामा दाहाल, मन्त्रीद्वय र एमाले नेता नेपाल आधा घन्टा जति त्यहीँ नै कुरेर बसे।

गच्छदारसँग सहमति भएको र पार्टीमा अनुमोदन गराउन गएको भन्ने खबर सुनाउँदै उनीहरुले हस्ताक्षरका लागि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति सुशील कोइरालालाई पनि तयारी अवस्थामा राखेका थिए। तर, गच्छदार बानेश्वरस्थित उक्त घरमा फर्केर नआएपछि, बानेश्वरबाट शंखमुलतर्फ जाने अर्याल होटलमा सहमतिमा हस्ताक्षर गर्ने टुंगो लगाएर नेताहरू त्यहाँबाट निस्किए।

बानेश्वर आएपछि गच्छदारले निराश हुँदै सन्देश पठाए, ‘म त्यहाँ (संविधानसभा भवनमा) आएँ भने फर्कंदा पार्टी अध्यक्ष नरहने भएँ, त्यसैले म आउन सकिन, माफ गर्नुहोला।’ गच्छदारका निराश मिश्रित स्वरले प्रमुख दललाई सोचमग्न बनायो।

भारतीय दूतावाससँग निकै बाक्लो उठबस गरिरहेका सभासद रामजनम चौधरी र योगेन्द्र चौधरी मुख्यतः गच्छदारलाई रोक्ने सभासदमा चिनिन्छन्। लैनचौरस्थित दूतावासमा पुगेर ‘राय लिँदै आएका’ रामजनम र योगेन्द्रले गच्छदारलाई हस्ताक्षर गर्न रोकिरहेको भन्नेमा प्रमुख दलका शीर्ष नेता जानकार नै थिए। त्यसैले गच्छदार फर्केर आउन नसक्नुको कारण बुझ्न उनीहरुलाई गाह्रो भएन।

रामजनमका अनुसार फोरम लोकतान्त्रिकका सभासद संविधानसभामा फर्कन तयार भए पनि पार्टी नेताले नमान्दा समस्या भएको हो। ‘अध्यक्षले सहमतिमा ‘मधेस–थरुहट’ राख्न तीन दल सहमत भएको जानकारी गराउनुभयो तर पार्टीका साथीहरू मान्ने अवस्थामा थिएनन्, हामी त तयार नै थियौं’ रामजनमले भने, ‘संविधानसभा बैठकमा आज हामी फर्केको भए पार्टी विभाजन हुने अवस्था थियो, त्यसैले हामीले आँट गर्न सकेनौँ।’ उनका अनुसार अध्यक्ष गच्छदार संविधानसभा भवन पुगेर फर्कंदा पद धरापमा पर्ने खतरा देखिएपछि जोखिम लिँदै सभासदहरू संविधानसभा भवनमा जान सकेनन्।

संविधान जारी हुने दिनसम्म पनि सहमतिका लागि प्रयासरत गच्छदार आफ्नै पार्टीका नेताको असहयोगको सिकार बने, उनको प्रयास अन्ततः असफल भयो। नेपालको संविधान–२०७२ घोषणा हुने औपचारिक समारोहमा गच्छदार चाहेर पनि उपस्थित हुन सकेनन्। समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु