संविधानको अन्तिम प्रक्रियाप्रति सभासद्को यस्तो धारणा

g]kfnsf] ;+ljwfgsf] kl/dflh{t ljw]os, @)&@ dfly ;b:oaf6 k|fKt ;+zf]wgnfO{ ;+ljwfg;efsf] a}7sdf cfkmgf] ;+zf]wg k|:tfjk|lt wf/0ff /fVb} ;ef;b . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ, सभासद्ले ‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ माथिको दफावार छलफलका क्रममा खुसी व्यक्त गर्दै असन्तुष्ट दलका जायज मागलाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

सभासद्ले आफ्ना निर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने नेपाली जनताको छ दशक लामो सपना पूरा हुन लागेको ऐतिहासिक क्षण भन्दै खुसी व्यक्त गरेका हुन् । सभासद्ले संविधान जारी भइसकेपछि पनि संविधान संशोधन गरेर असन्तुष्ट आन्दोलनरत दलका माग सम्बोधन गर्न सुझाएका छन् ।

नेपाली काँग्रेसका सभासद् अर्जुननरसिंह केसीले संविधानसभाबाट संविधान जारी गर्ने क्षण ऐतिहासिक खुसीको क्षण भएको बताए । उनले जनताको सार्वभौमिकता र सर्वोच्चतालाई स्वीकार गरी पहिलो पटक मुलुकमा संविधान जारी हुन लागेको बताए।

संविधानसभाले परमार्जित विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि संविधान लेखनको अन्तिम र महत्वपूर्ण चरण सुरु भएको हो । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि उक्त चरण सुरु भएको थियो ।

काभ्रेपलाञ्चोकबाट प्रतिनिधित्व गर्नुहुने नेकपा एमालेका सभासद् रामहरि सुवेदीले राजनीतिक एवम् संवैधानिक स्थिरताका लागि संविधान पाउने क्षणलाई आफूले गर्वको रुपमा लिएको प्रतिक्रिया दिए । उनले आन्दोलरत असन्तुष्ट दलका माग संविधान संशोधनबाट पूरा गर्न सकिने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालको नेतृत्वमा रहेका मधेसवादी दल र लोकतान्त्रिक मधेसी मोर्चामा रहेका मधेसवादी दललाई संविधान लेखन प्रक्रियामा ल्याउन प्रमुख दलहरूले वार्ताका लागि आह्वान गर्दै दुई दिन संविधानको चालु प्रक्रियालाई स्थगन गरेका थिए । तर यसैबीच सरकार र आन्दोलनरत ती दलबीच वार्ता हुन सकेन । आन्दोलनरत दलसँग हुने भनिएको वार्ता नभएपछि प्रमुख राजनीतिक दलले संविधान लेखनका बाँकी कामलाई तीव्र तुल्याएर संविधान जारी गर्ने जिम्मेवारीलाई शीघ्र पूरा गर्ने दलगत निर्णय गरेका थिए ।

यस्तै एमाओवादीका सभासद् गणेशमान पुन संविधान निर्माणको ऐतिहासिक क्षणमा आफू खुसी भएको बताए। उनले भने, “यो संविधान अग्रगामी र ऐतिहासिक छ, तर थारु, मधेसी, जनजातिलगायत तथा सीमाङ्कनका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्न सकिन्छ ।”

लामो समयसम्म सङ्घीयता, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीको बहसमा अल्झिएका प्रमुख दलहरु वैशाख १२ को भूकम्पपछि गत जेठ २५ गते १६ बुँदे सहमति गर्दै संविधान निर्माण प्रक्रियामा अघि बढेका थिए । संविधानसभामा कूल ६०१ मध्ये हाल कायम ५९८ सभासद् छन् । आइतबारको बैठकमा त्यसमध्ये ५३८ ९१ प्रतिशत सभासद्को उपस्थिति थियो । मस्यौदा विधेयकमा असन्तुष्ट राप्रपा नेपाल पनि पुनः प्रक्रियामा सामेल भएको छ । संविधान जारीका लागि सभाको दुईतिहाई मत अर्थात ४०१ सभासद्को समर्थन आवश्यक हुन्छ ।

काँग्रेस सभासद शकलदेव सुतिहारले भने, “यो ऐतिहासिक क्षण हो । मधेसवादी दललाई समेत समेटेर जान सकेको भए सुनमा सुगन्ध हुन्थ्यो ।”त्यस्तै काँग्रेसका अर्का सभासद् नवीन्द्रराज जोशीले शान्ति र संविधानको जनमतअनुसार संविधान जारी हुन गइरहेको बताउँदै असन्तुष्ट पक्षका मागलाई सम्बोधन गरिने विश्वास दिलाए ।

संविधान लेखन प्रक्रियाको अन्तिम समयसम्म नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीसँगै रहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक पछिल्लो चरणमा सात प्रदेशसहितको सङ्घीयताको खाकामा असहमति जनाउँदै बाहिरिएको छ । संविधान लेखनको यो अन्तिम चरणसम्म आइपुग्दा मधेस केन्द्रित सबै दल संविधान लेखन प्रक्रियाबाट बाहिरिएका छन् ।

एमाओवादीका सभासद् अनिता परियारले जनताले संविधानसभाबाट संविधान ल्याउन उच्च इच्छा भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वका लागि यो संविधान कोशेढुङ्गा हुने बताए। उले भने “संविधान संशोधन गरेर अगाडि जाँदा असन्तुष्ट पक्षका जायज माग सम्बोधन गर्न सकिन्छ ।”

नेकपा एमाले सभासद् सिन्धु बुढाथोकीले संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको बताए। उनले असन्तुष्टि जनाउने दललाई संविधान संशोधनबाट सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसहित राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिक तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका सङ्घीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टी असन्तुष्ट भई आन्दोलनमा छन् ।

त्यस्तै बहुजन शक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट र एक स्वतन्त्र सभासद् चन्द्रेश्वर झाको पनि प्रक्रियामा सहभागिता छैन ।

काँग्रेसकी सभासद् अञ्जना ताम्लीले विगत आठ वर्षदेखि संविधान निर्माणको छलफल र बहस टुङ्गोमा पुग्दा आफू खुसी भएको बताए । त्यस्तै मोरङबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सभासद् भोटनीदेवी खवासले भने “मलाई धेरै खुसी लागेको छ । शीर्ष नेताले असन्तुष्ट पक्षलाई वार्तामा ल्याएर मागको सम्बोधन गर्नुपर्छ ।”

सभासद् नागेन्द्र कुमालले सबै राजनीतिक दललाई सहमतिमा ल्याएर संविधान निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्दै असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्नुपर्ने बताए । त्यस्तै काँग्रेसका सभासद् डिल्ली चौधरीले संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको बताए ।

त्यस्तै नेकपा एमालेका सभासद् रामदयाल मण्डलले संविधान जारी हुनु राम्रो भएको बताउँदै दलित, महिला, मधेसीको माग संविधान संशोधनबाट सम्बोधन हुनुपर्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी जयन्त चन्दले लामो समयपछि संविधान निर्माणको प्रक्रिया सुरु हुन ऐतिहासिक क्षण भएको भन्दै खुसी व्यक्त गरे ।

दफावार छलफलको प्रक्रिया मङ्गलबारसम्म निरन्तर अघि बढेमा संविधान लेखन कार्य सम्पन्न हुने र संविधानमा सभासद्को हस्ताक्षर र सभाध्यक्षको प्रमाणीकरणपछि राष्ट्राध्यक्षबाट समारोहसहित घोषणा जारी हुने छ । सचिवालयले यी सबै कार्यका लागि बढीमा एक साताको समय लाग्ने जनाएको छ ।

सम्बन्धित शिर्षकहरु