भदौ २३। काठमाडौँ, बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङ निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीडी राभेन्नाले मधेश आन्दोलनले गर्दा निर्माण सामग्रीको अभाव भएको भन्दै काम ठप्प पारेको छ । एक सातादेखि सिमेन्ट, फलाम छड लगायतका सामग्रीको अभाव देखाउँदै काम रोकिएको हो ।
आयोजना प्रमुख घनश्याम भट्टराई मधेश आन्दोलनले गर्दा सामग्री अभाव देखाउँदै ठेकेदारले निर्माण काम ठप्प पारेको जानकारी दिए ।‘सामग्री छैन, बाटो बन्द छ भन्छ, काम गर्दैन,’ उनले भने । निर्माणका क्रममा कुनै किसिमको बाधा अवरोध नआएमा कम नरोक्ने र एक महिनाका लागि पहिल्यै निर्माण सामग्री स्टकमा राख्ने सम्झौतामा उल्लेख छ । ‘ठेकेदारले निर्माण सामग्री स्टकमा राख्नुपर्ने हो, काम किन रोकेको भनेर सोधपछि कहिले बाटो बन्द छ, कहिले आन्दोलन छ भन्छ,’ उनले भने, ‘ठेकेदारले निकै लापरवाही गरेको छ, खाली बहाना मात्र गर्छ ।’ यसअघि पनि पहिरोले काभ्रेमा सडक अवरूद्ध हुँदा बालुवा, गिट्टी नभएको भन्दै करिव १५ दिन निर्माण कार्य रोकेको थियो ।
प्रमुख भट्टराईले सम्झौता अनुसार ठेकेदारले कहिल्यै पनि निर्माण सामग्री स्टकमा नराखेको बताए । आयोजनाका अनुसार ठेक्का पाएको दिनदेखि इटालीको कम्पनी सीएमसीले अधिकांश समय दक्ष कामदार, उपकरण अभाव जस्ता विभिन्न कारण देखाउँदै काममा ढिलाई गर्दै आएको छ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।








