एजेन्सी, बलिउडमा सवै भन्दा बढी गसिप बनेको बलिउड नायक सलमान खान र नायिका कट्रिना कैफको सम्बन्धका बारेमा चर्चा हुन आज पनि छाडेको छैन ।
त्यसो छ कुनै बेला यो जोडी प्रेम चक्करमै थियो । ऐश्वर्या रायसँगको प्रेम असफल भएपछि एक्लिएका सलमानलाई कट्रिनाले साथ दिएको परिचर्चा नभएको होइन । तर, त्यो दीर्घकालसम्म रहेन । उनी सलमान छोडेर रणवीर कपुरतर्फ ढल्किइन गसिप त्यता बन्यो ।
सलमानलाई कट्रिनाका गडफादर मान्दा पनि फरक पर्दैन। बेलायतमा मोडलिङ गर्दागर्दै सन् २००३ मा ‘बुम’ मार्फत बलिउडमा आए पनि उनको कतै नाम थिएन। फिल्म असफल रह्यो। एक त हिन्दी भाषामा कमजोर, त्यसमाथि डेब्यु फिल्म असफल भएपछि कट्रिनालाई दोर्होयाउन चाहने कोही देखिएन। यस्तोमा सलमानले नै उनलाई दुई वर्षपछि ‘मैंने प्यार क्यूँ किया’ मा चान्स दिए। उक्त फिल्म चले पनि कट्रिनाको भाग्य भने फेरि पनि चलेन। अन्ततः उनै सलमानले फेरि ‘पार्टनर’ मा खेलाए।
यसपछि भने कट्रिनाले पछाडि फर्केर हेर्नुपरेको छैन। झन् सलमानको प्रेमिकाका रूपमा चिनिएपछि त कट्रिना बलिउडमा एकाएक चर्चामा रहिन्। सलमानसँग पनि लगालग ‘युवराज’ र ‘एक था टाइगर’ मा खेलिन्।
जब सलमानसँगको प्रेम ताडियो, तब कट्रिना सलमानसँग फिल्ममा पनि देखिन छोडिन्। तर यति बेला पुनः दुई बीच सँगै फिल्ममा देखिने सम्भावनाबारेमा खबर आएको छ। अतुल अग्निहोत्रीले आफ्नो नयाँ फिल्ममा सलमान र कट्रिनाको जोडीलाई पुनः दोर्होयाउन लागेका छन्।
‘मैले अतुलको आगामी फिल्ममा काम गर्न लागेको भन्ने सही हो, तर यस बेला म योभन्दा बढी केही बताउन सक्दिनँ,’ सलमानले फिल्ममा कट्रिनाको संलग्नताबारे मिडियाले सोधेको जिज्ञासामा भने, ‘फिल्ममा कट्रिना छिन् भने त मलाई झन् खुसी लाग्नेछ। तर यसबारेमा मलाई केही थाहा छैन।’
सलमानले अतुलसँगको सहकार्यमा सन् २०११ मै ‘बडिगार्ड’ खेलिसकेका छन्। यसमा सलमानको अपोजिटमा करिना कपुर थिइन्। प्रेम र एक्सनको मिश्रण रहने बताइएको नयाँ फिल्मलाई कवीर खानले निर्देशन गर्ने भएका छन्। यदि सलमानसँग कट्रिना खेल्ने पक्का भएमा दुईको यो पाँचौं सहकार्य हुनेछ।







