भदौ १७ । काठमाडौँ, एकीकृत नेकपा माओवादीले आन्दोलनरत असन्तुष्ट मधेश केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराईले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा यस अघि सहमति गरेका चारै पक्ष मिलेर सहमतिका आधारमा अहिलेकै प्रक्रियाभित्रबाट संविधान निर्माण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको नेता भट्टराईले जानकारी दिए। उनले सहमतिका लागि आफूहरुले पनि विभिन्न पक्षसँग सहजकर्ताको भूमिका खेलिरहेको बताए।
संविधान निर्माण प्रक्रियामा यही भदौ १९ गतेसम्म संशोधन प्रस्ताव दर्ताको अन्तिम समय रहेको र असन्तुष्ट मधेस केन्द्रित दलका प्रमुख नेताहरु राजधानीमा रहेकै बेला भएको सो भेटलाई महत्वका साथ हेरिएको छ ।








