भदौ ८ । काठमाडौँ, कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई काठमाडौँ फिर्ता बोलाउने निर्णय भएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट सोमबार कैलालीको टीकापुरमा भएको घटनामा शान्ति, सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइएको बताइएको छ ।
उनको ठाउँमा क्षेत्रीय प्रशासन कार्यालय, मध्यामाञ्चल विकास क्षेत्र, हेटौंडाका सह–सचिव मोहन चापागाईंलाई पठाइन लागेको मन्त्रालय स्रोतले दावी गरेको छ ।
सोमबार कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच दिउँसो झडप भएको थियो । झडपमा प्रहरी वरिष्ठ उपरीक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले वरिष्ठ प्रहरी उपरीक्षक सहितको टोलीलाई खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका थिए ।
कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिका९२ मनुवा गाउ नजिकै दिउँसो अढाइ बजे तिर भएको घटनामा परि मृत्यु हुने हुनेहरुमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका छन ।
यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षीय बालक टेकबहादुर साउद समेत छन् ।








