पशुपति क्षेत्रको भण्डारखालको पर्खाल भत्कन थालेपछि..

काठमाडौँ, विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल वरिपरिको पर्खाल गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्प एवम् वर्षाले भत्कन थालेको छ ।

गौशालाचोक–जयवागेश्वरी मन्दिरदेखि सिफलचौरको सेरोफेरोमा फैलिएको पशुपति भण्डारखालको पर्खाल भत्कन सुरु भएपछि यसको वरपरबाट हिँड्ने मानिसमा जोखिम बढेको छ । “बिहान–बेलुका हिँड्ने बाटोसँगैको पर्खाल भत्कन थालेपछि बाटो हिँड्न पनि डराउनुपरेको छ”–स्थानीयवासी गोपाल आचार्यले भने।

ऐतिहासिक स्थल भएर पनि भण्डारखालको पर्खालको मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान नगएको उनले गुनासो गरे । कोषले भण्डारखाल क्षेत्रको १०४ रोपनी जग्गामा फूलको बगैँचा बनाउने योजना अघि सारेको वषौँ बितिसक्दा पनि कार्यानवयन नगर्दा पवित्रस्थल पशुपति क्षेत्रको भण्डारखाल ट्यापे, गँजडी र अश्लील जोडीको क्रीडास्थलका रुपमा विकास भएको स्थानीयवासी श्याम वैद्य बताउँछन्।

कोषका पूर्व कोषाध्यक्षसमेत रहनुभएका स्थानीयवासी नरोत्तम वैद्य भण्डारखाल लिच्छविकालीन बस्ती रहेको ऐतिहासिक स्थल भएको तथ्य पुरातत्व विभागले उत्खनन् गर्दा फेला परेको प्रमाणबाट प्रमाणित भएको बताउँछन् । “गत वर्षको उत्खननमा पोखरी र त्यसअघि पर्खाल भेटिएको थियो, उत्खननमा पाइएका अन्य सामग्रीबाट यो स्थानमा लिच्छविकालीन बस्ती रहेको प्रमाणित हुन्छ”–उनले भने।

हरिसिद्धिको १२ वर्षे मेला भण्डारखालको सुनको प्रवेशद्वारबाट छिराइने र चाँदीको द्वारबाट निकालिने गरेको छ । कङ्क्रिटको जङ्गलमा परिणत भएको उपत्यकाको बीचमा रमाइलो जङ्गलका रुपमा बाँकी रहेको यो ऐतिहासिक स्थललाई संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

कोषका सदस्यसचिव डा गोविन्द टण्डन ऐतिहासिक स्थल भण्डारखाललाई संरक्षणका लागि गुरुयोजना बनाई लागू गरिने तयारी गरिएको बताउँछन् । “भण्डारखाललाई व्यवस्थित बनाउने योजना बनेको छ, यसलाई कार्यान्वयन गराउने तयारी गरेका छौँ”–उनले भने ।

सम्बन्धित शिर्षकहरु