मोदीलाई प्रधानमन्त्री कोइरालाको यस्तो सन्देश

pm-koiralaकाठमाडौँ,  प्रधानमन्त्री सुशील कोइरालाले भारतको ६९औँ स्वतन्त्रता दिवसका अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार शुभकामना सन्देश पठाउँदै भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्।

प्रधानमन्त्री कोइरालाले पठाएको सन्देशमा सन् १९४७ मा भारतमा भएको स्वतन्त्रता सङ्ग्राम २०औँ शताब्दीको महत्वपूर्ण घटना भएको बताउँदै त्यसले उपनिवेशको अन्त्य र स्वतन्त्रताका निम्ति एसियामा मात्र नभई अफ्रिकी मुलुकमा सङ्घर्षको चेतना जागृत गरेको उल्लेख गरेका छन् ।

भारतको स्वतन्त्रता सङ्ग्राममा बिपी कोइरालाको संलग्नताले स्वतन्त्रता र आत्मसम्मानका लागि नेपालको प्रतिबद्धता प्रतिविम्बन हुन्छ भन्दै प्रधानमन्त्रीले सन्देशमा बिपीले तयार गरेको त्यही आधारशिलामा खडा भएको नेपाल–भारत ऐतिहासिक सम्बन्ध आज पर्यन्त सुदृढ रहेको बताए ।

“दुवै देशका दूरदृष्टि भएका नेताहरुको प्रतिबद्धताका कारण पारस्परिक सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ, प्रधानमन्त्री मोदीले गत वर्ष गर्नुभएको नेपालको भ्रमणलाई नेपाली जनताको मनमस्तिष्कमा अद्यापि ताजा छ,” भारतीय प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन अतुलनीय योगदान भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री मोदीको सबल नेतृत्वमा भारतका जनताले उच्चस्तरको प्रगति एवम् समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले २१औँ शताब्दीको उदीयमान अर्थतन्त्रका रुपमा द्रुत गतिमा भारतले गरेको विकासप्रति नेपाली जनता हर्षित रहेका सन्देशमा उल्लेख गरेका हुन् ।

संविधान लेखनका निम्ति भारतबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्रीले संविधान निर्माणको प्रक्रियामा प्रमुख राजनीतिक दलबीच सहकार्य भइरहेको बताएका छन् । देशमा विधिको शासन कायम गर्न तथा संवैधानिक आधारशिला सुदृढ बनाउने लोकतान्त्रिक संविधान संविधासभाबाटै जारी गरिने पनि प्रधानमन्त्री कोइरालाले सन्देशमा उल्लेख गर्नुरेका छन् ।

सम्बन्धित शिर्षकहरु