अष्ट्रेलिया , नेपाली आदिवासी जनजाती मञ्च, अष्ट्रेलियाका अध्यक्ष चित्रबहादुर तुम्वाहाम्फेले कुनै जातजाती र भाषालाई पछाडी राखेर मुलुक सम्वृद्ध हुन नसक्ने बताएका छन् । अगष्ट ९ अर्थात विश्व आदिवासी दिवसको सन्दर्भमा सिड्नीमा आयोजना गरेको कार्यक्रमका बारेमा असनेपालन्यूजसँग कुराकानी गर्दै उनले राज्यले सवैको पहिचान दिनु पर्ने बताए ।

‘राज्य सवैको अभिभावक हो, सवै जाती जनजातीको विकासका लागि राज्यले दृष्टि पुर्याउनु पर्दछ । नेपालमा संविधान निर्माण हुँदैछ । अव बन्ने संविधानमा सवै जातजाती भाषभाषीहरू पहिचान झक्कनु पर्दछ । सबैले यो मेरो संविधान हो भन्नु सक्नुपर्दछ’ उनको आसय थियो । त्यस्तै उनले नेपालको विविधता नेपालको गौरव र प्रतिष्ठा भएको बताउँदै ती सवैको संरक्षण गरिनु पर्ने र त्यसको आफूहरूले अष्ट्रेलियामा समेत प्रवद्र्धन गरिरहेको बताए ।
अष्ट्रेलियामा पनि हामी नेपाली कला, संस्कृति, पहिचानको संरक्षण र सम्बद्र्धनका लागि आफूहरू मरिमेटेर लागेको पनि उनले जानकारी दिए । ‘हामी यहाँको स्थानीय एवम् राष्ट्रिय सरकारसँग समन्वय गरेर अघि बढिरहेका छौँ । यहाँका आदिवासीहरूको विषयका सन्दर्भका यहाँको सरकारसँग हातेमालो गर्दै हिँडिरहेका छौँ’, उनले भने, ‘हामीलाई यहाँको सरकारले समेत राम्रो समन्वय गरिरहेको छ ।’ त्यस्तै मञ्चका सचिव रामसितोङ राइले सिड्नीमा आयोजित उक्त कार्यक्रम निकै प्रभावकारी भएको जानकारी दिए ।
विभिन्न नौ जातीजनजातीहरूको पहिचान झल्कने खाना तथा विभिन्न झाँकीहरू समेत प्रस्तुत गरिएको उनको भनाई थियो । त्यस्तै जेष्ठ नागरिक तथा बयोबृद्धहरूलाई कार्यक्रममा सम्मान समेत व्यक्त गरिएको थियो । नेपालबाट जानु भएको भिजिटिङ अभिभावकहरू नेपालका विभिन्न जाती जनजातीहरूको रहनसहन, भेषभुषा र खानाहरू एकै थलोमा देख्न पाउँदा दङ्ङ परेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएको क्यान्टोवेरी काउन्सिलका मेयर डायन रक्सौनले नेपालको विविधता, कला, संस्कृतिबाट आफू निकै प्रभावित भएको आसय व्यक्त गरेका थिए । त्यस्तै नेपालको आदिवासीहरूको उत्थान र विकासका लागि आफूले सक्दो सहयोग गर्ने पनि बचनबद्धता गरेका थिए ।

कार्यक्रममा नेपाली समुदायका अगुवा गणेश तामाङ, विभिन्न अधिकारवादी संघ÷संस्था तथा राजनीतिक व्यक्तित्वहरूको पनि उपस्थिति थियो । कार्यक्रम सिड्निको पिटरश्याम टाउनहलमा आयोजना भएको थियो ।
अगष्ट ९ लाई संयुक्त राष्ट्र संघले विश्वआदिवासी दिवसको रूपमा मनाउने गर्दछ ।







