दरमखोला ‘ए’ असोजभित्र पूरा हुने

damalkholaसाउन २४। काठमाडौँ, गैरआवासीय नेपालीको लगानीमा निर्माणाधीन दरमखोला ‘ए’ जलविद्युत् आयोजनाको काम आगामी असोजभित्रै पूरा हुने भएको छ ।

साढे दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साढे दुई वर्षअघि सुरु भएको आयोजनाको इन्टेक र पाइपलाइनको काम सकिएको निर्माणकर्ता सयपत्री हाइड्रोपावर प्रालिले जनाएको छ ।

गत जेठभित्रै विद्युत् उत्पादन सुरु गर्ने भनिए पनि निर्माणमा भएको ढिलाइले असोजमा सरेको हो । आयोजनाका प्रबन्धक गोपाल न्युरेका अनुसार सिभिल चरणका पूर्वाधार निर्माणको काम सकिन लागेको छ ।

रु छयालीस करोडको लागतमा बन्न लागेको आयोजनाको हिल र अर्गल गाविसमा पूर्वाधार बनाई दरमखोलाको पानीबाट विद्युत् निकाल्न लागिएको हो । बाँधबाट एक हजार ७४५ मिको प्रेसर पाइप प्रयोग गरी पानीलाई विद्युत्गृहसम्म ल्याउन लागिएको छ ।

हिल–२ को साँदी भन्ने ठाउँमा बाँध र अर्गल–७ मा रहेको घुस्मेली भन्ने ठाउँमा विद्युत्गृह निर्माण भइरहेको इन्जिनियर न्युरले बताए । सिभिल चरणतर्फ पाइपलाइन बिछ्याउने, पाइप रोलिङ, इन्टेकलगायतको काम सम्पन्न भएको प्रबन्धक न्युरेले जानकारी दिए।

“विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ, असोजभित्र सबै काम पूरा भएर विद्युत् उत्पादन हुन्छ”, न्युरेले भने । उनका अनुसार विद्युत्गृहमा उपकरण जडानका लागि पाँच चिनियाँ प्राविधिकसमेत खटिएका छन् । वर्षायाम सुरु भएपछि बाहिरी काम केही प्रभावित भए पनि विद्युत्गृहभित्रको काम भने भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु