पार्टी कार्यालय सरेको हो, एमालेको बिचार सरेको छैनः अध्यक्ष ओली

kp-oliकाठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पार्टी कार्यालय सरेको तर नीति नसरेको भन्दै संविधान निर्माणमा आफ्ना स्पष्ट दृष्टिकोण रहेको दोहोर्याएका छन्। शनिबार पासाङ ल्यामु पर्वतारोहण प्रतिष्ठानमा नयाँ कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेपनि विभिन्न जोड र कोणबाट संविधान बन्न नदिने खेल भइरहेकाले सचेत हुनुपर्ने बताए । तपाईंहरूलाई म ढुक्क रहन आग्रह गर्दछु । संविधान बनाउने थलोमा एमाले छ । हामी संविधान बन्न नदिने जस्तोसुकै दुष्प्रयासहरू विफल पार्न प्रतिबद्ध छौँ,’ उनले भने, ‘जनतालाई अधिकार सम्पन्न बनाउने अग्रगामी संविधान निर्माण गरेरै छाड्छौँ ।’

उनले एमालेको कार्यालय कहाँनेर छ भने एमालेको नीतिमा त्यसले प्रभाव नपार्ने बताउँदै एमाले राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रियता अखण्डताको पक्षमा अविचलित रहेको प्रष्ट पारे । उनले वैशाख १२ को भूकम्पले लाखौँ नागरिक घरबार विहीन् हुनु परेको र एमालेले पनि आफ्नो कार्यालय गुमाउनु परेको भन्दै त्यसप्रति एमाले निकै दुःखीत भएको बताए ।

उनले प्रतिष्ठानसँग भएको सम्झौता मुताविकै यथासिघ्र आफ्नो भवन बनाउन लाग्ने भन्दै भवन नबन्दा सम्म आफ्नो कार्यालय उपयोग गर्न दिएकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे । ‘म प्रतिष्ठानलाई विशेष धन्यवाद दिन चाहन्छु । राष्ट्रिय विभुती पासाङ ल्यामुसँग पार्टीको भावनात्मक सम्बन्ध पनि जोडिएको छ,’ उनले भने हामी सम्झौता अवधिभित्रै आफ्नो कार्यालय व्यवस्थापन गर्छौं ।

अध्यक्ष ओलीले हँस्यौली पारामा कार्यकर्ता पंक्तिलाई एमालेले कार्यालय सार्दा तामझाम गर्न नचाहेको भन्दै छिट्टै संविधान निर्माण गरे संविधान बनाएर दिपावली गर्नु पर्ने समेत बताए ।
उनले नेपाली कम्युनिष्ट आन्दोलनले ६६ वर्ष पार गरिसकेको बताउँदै त्यस अवधिमा राष्ट्रिय राजनीतिमा उपयुक्त भूमिका खेल्नुपर्ने बेला अहिलेनै भएको बताए । अव बन्ने संविधानले शान्ति, लोकतन्त्र, समााजिक न्याय र समानता, राष्ट्रिय एकता र गरिवी हटाउने कुरालाई जोड दिनु पर्ने ओलीको जोड थियो ।

कार्यक्रममा पार्टी महासचिव ईश्वर पोखरेल, पोलिव्यूरो सदस्य विष्णु रिमालले पनि आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित शिर्षकहरु