साउन १७ । काठमाडौँ, सिन्धुपाल्चोकको मांखा–१ र राम्चे ५ स्थित जुरेमा गएको पहिरोको एक वर्ष पूरा भएको छ । दुई सय जना भन्दा बढीको एकै चिहान भएको सो घटनामा सयौँको उठिबास लागेको थियो । कयौँ अझै वेपत्ता छन् । सरकारले वेपत्ताहरूको कुनै टुंगो लगाउन नसकेपछि एक सय ५६ जनालाई सामूहिक मृत घोषणा गरेको थियो ।
जुरेको पहाड खसेर सुनकोशी नदी थुनिँदा चार किलोमिटर लामो ताल बनेको थियो । केही दिन पछि ताल ख्ुलेता पनि सो स्थानमा अझै ताल पूर्ण रूपमा हट्न सकेको छैन ।

विनासकारी जुरे घटनामा सर्वस्व गुमाएकाहरूले राज्यको तर्फबाट अझै केही राहत पाउन सकेका छैनन् । आफूहरू भोकभोकै दिन कटाउन बाध्य भएको पीडितहरू गुनासो गर्दछन् ।

‘जुरे घटनाको लागि भनेर देशबिदेशबाट सहयोगको ओइरो लाग्यो, प्रधानमन्त्री राहत कोषमा पैसा थुप्रियो’ एक पीडितले भने ‘तर हामीले राज्य तर्फबाट केही पाएनौँ ।’ सो पहिरोमा घरबार गुमाएकाहरू अहिले पनि खुला आकाशमुनी रात कटाउन बाध्य छन् । जुरेको पीडा विर्सन नपाउँदै त्यहाँका पीडितहरू भूकम्पको गम्भीर चपेटामा परे । गएको वैशाख १२ र २९ गतेको भूकम्पको सर्वाधिक असर सिन्धुपाल्चोकमै पर्यो । जुरे पहिरोबाट उठीबास लागेकाहरूलाई थप पीडा थियो भूकम्पले । तथापी राज्यले उनीहरूका लागि केही नगरेको पीडितहरू आँसु झार्दै बताउँछन् ।










