एजेन्सी, अभिनेत्री प्रीति जिन्टाले आफ्ना समकक्षी ऐश्वर्या रायको पुनरागमनलाई लिएर तारिफ गरेकी छन्। सञ्जय गुप्ताको ‘जज्बा’बाट ऐश्वर्याले फिल्म क्षेत्रमा पुनरागमन जनाउँदै छिन्। प्रीति र ऐश्वर्यालाई यसअघि साथीका रुपमा हेरिएको थिएन। तर प्रीतिले तारिफ गरेपछि धेरैले आफ्नो सोचाइ बदलेका छन्।
‘जज्बाको टिजरमा ऐश्वर्यालाई निकै आकर्षक देखिएको छ, कसले भन्छ, बिहेपछि हिरोइनहरुको माग घट्छ भनेर ? ऐश्वर्या उत्कृष्ट आमा र उत्कृष्ट पत्नी दुवै हुन्’ प्रीतिले भनिन्, ‘बिहेपछि हिरोइनको करिअर सकिन्छ भन्ने कुरा एउटा मिथ हो, एन्जेलिना जोलीलाई हेरौं, बिहे र बालबच्चा भइसकेपछि उनले साल्ट फिल्म खेलिन्, जसमा टम क्रुजलाई खेलाउने कुरा थियो।’
भारतकै शर्मिला टेगोरका केही उत्कृष्ट फिल्महरु पनि बिहेबारी र बच्चा जन्माइसकेपछि आएको उनले बताइन्। ऐश्वर्या र आफ्नो मित्रताबारे उनले खुलाइन्, ‘अभिषेक र ऐश दुवैसँग मेरो धेरै वर्षदेखि मित्रता छ, ऐश्वर्यासँग भेटघाट गर्न र समय बिताउन पाउँदा निकै रमाइलो हुन्छ मलाई।’







