kaskiसाउन १४ । म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोमा पुरिएर बेपत्ता भएका सातजनाको शव भेटिएको छ ।

पहिरोले पुरिएर मुदी गाविस– ५ नेरवाङको गाखर्कमा एकै घरका तीनसहित छजना र मुना गाविस– ४ कुनौटोमा एक बालिकाको मृत्यु भएको हो ।

मुदीको गाखर्कमा पहिरोले गोठ पुरिँदा मुदी– १ का ७० वर्षीय कलो घर्ती, ४७ वर्षीय जीतबहादुर घर्ती र मुदी– ३ का ५२ वर्षीय भिमबहादुर घर्तीको मृत्यु भएको स्थानीय बुद्धिविकास माविका प्रअ जगबहादुर किसानले बताए ।

उनका अनुसार मुदी २ का ४९ वर्षीय दलदेवी पुन, उनका बुवा ७० वर्षीय किसलाल पुन र आमा ७३ वर्षीया घनदेवी पुनको पनि पहिरोमा पुरीएर मृत्यु भएको छ । यसैगरी, मुना गाविस– ४ कुनौटोमा पहिरोले घर पुर्दा ९ वर्षीया मेलिना पहरे पुनको मृत्यु भएको स्थानीयवासी देवेन्द्र रोकाले बताए।

गाखर्कको पहिरोमा पुरिएका दुई जनाको शव बिहीबार दिउँसो स्थानीय बासिन्दाहरुले निकालेका छन् । उद्धारका लागि गाखर्कमा पुगेका मुदी र नेरवाङका बासिन्दाहरुले अन्य चार जनाको शव निकाल्ने प्रयास गरिरहेका छन् ।

उद्धारमा खटिएका प्रथम धौलागिरी युवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीका अनुसार गाखर्कमा करिब डेढ सय मिटर माथिबाट खसेको पहिरोले गोठ रहेको सबै ठाउँ पुरिएका छन् । चार वटा गोठमा पालिएका दुई सय ५० भेडाबाख्रा र ७० वटा गाईभैंसी पनि पहिरोले पुरिएका छन् ।

पहिरोपछि गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । भौगोलिक रुपमा बिकट उक्त स्थानमा पुग्न नजिकको बस्ती मुदीबाट दुई घण्टा पैदल हिड्नुपर्छ ।

दुर्गम क्षेत्रमा पर्ने घटनास्थलमा ताकम प्रहरी चौकीबाट खटिएको टोली जाँदै गरेको प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले बताए ।

यसैगरी, म्याग्दीको मुना गाविसको ७, ८ र ९ नम्बर वडामा पर्ने दर गाउँ पहिरोको जोखिममा परेको छ । गाउँ माथिको पहाडबाट पहिरो खस्न थालेपछि करिब एक सय घर जोखिममा परेको स्थानीयवासी बेलबहादुर पाईजाले बताए

सम्बन्धित शिर्षकहरु