अष्ट्रेलिया, पछिल्लो समय युट्यूव, सर्जकहरूका लागि निकै फाइदादायक हुन थालेको छ । अडियो भिडियो दुनियाँमा वेग्लै छाप बनाइरहेको युट्यूव च्यानल पछिल्लो समय नेपाली साहित्य साधकहरूले प्रयोग गर्न थालेका छन् । त्यसैमा नयाँ आयाम थपेका छन् अष्ट्रेलियामा रहेर पनि नेपाली साहित्यमा कलम चलाइरहेका उपासकहरूले । उनीहरूले युट्यूवमा रचना बाचन पेज नै बनाएर सर्जकहरूलाई आर्थीक लाभ दिन सुरू गरेको यो अभियानका रथी मध्येका एक गोपी दवाडीले असनेपालन्यूजलाई जानकारी दिए । रचना बाचनको पेजमा साहित्यका विधाका गजल (बहर र गैरबहर), कविता (गद्य पद्य दुवै) आदि भिडियो समावेस छन् । त्यति मात्र नभएर गुगल एडसेन्स मार्फत जम्मा हुने रोयल्टी पनि सर्जकहरूलाई दिने उनीहरूले बताएका छन् ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने र सर्जकहरूलाई थोरै भएपनि आर्थिक लाभ दिनका लागि युट्यूवको व्यवसायिक प्रयोग थालिएको दवाडीले जानकारी दिए । त्यसका लागि सर्जकहरूले इमेल मार्फत रचना बाचन सँग सम्पर्क गर्न सक्नेछन् । त्यस्तै सर्जकहरूका ति बाचनहरूलाई अनधिकृत तवरले डाउनलोड नगर्न पनि दवाडीले अनुरोध गरेका छन् । अनधिकृत डाउनलोड गर्दा सर्जकमाथि बौद्धिक शोषण हुने र सिर्जनाको दुरूपयोग हुने उनको भनाई छ । तर, फेसवुक, ट्वीटर आदी सामाजिक सञ्जालमा भने सेयर गरेर सहयोग गर्न सकिनेछ ।







