जयश्री पुलमा डाइभर्सन निर्माण सुरु, साँझसम्ममा एकतर्फी सवारी चल्ने

pulसाउन १२ । कावासोती, बढी भारका कारण भाँच्चिएको नवलपरासीको गैँडाकोटस्थित जयश्री पुलको दक्षिणतर्फबाट वैकल्पिक बाटो डाइभर्सन निर्माण सुरु भएको छ ।

हिजो पुल भाँच्चिएको १४ घन्टापछि आज डाइभर्सनको काम सुरु भएको हो । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर दीपककुमार भट्टराईका अनुसार सडक कार्यालयका औजारहरु प्रयोग गरी डाइभर्सन बनाउन लागिएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत गैँडाकोटस्थित जयश्री पुल सोमबार साँझ भाँच्चिएको थियो । पुल भाँच्चिदा पूर्व हिँडेका हजारौँ यात्रुले नवलपरासीको सडकमा रात बिताएका छन् । केही यात्रु भने पैदल ओहोरदोहोर गरेका छन् ।

स्थानीय सवारी साधानमार्फत बुटवल जाने यात्रु पुलबाट पश्चिम लागेका छन् भने पूर्व जाने यात्रु पैदल यात्रा गरेर खोला तरी नारायणघाटतर्फ लागेका छन् । आज साँझसम्ममा डाइभर्सन पूरा गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याउँछौँ, प्रमुख इन्जिनियर भट्टराईले भने–“ह्युमपाइप र मेसिन आएका छन् अब कामको गतिले बेलुकासम्ममा ‘वान वे’ खुल्छ ।”

पूर्वबाट पश्चिम जाने सवारी साधन गैँडाकोटमा रोकिएका छन् भने पश्चिमबाट पूर्वका लागि आएका सवारी साधन गैँडाकोटको थुम्सी, कावासोती, चोरमारा, बर्दघाट सुनवलमा रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । टिपर र ट्रकले एकैसाथ बाटो पारगर्न खोज्ने क्रममा पुल भाँच्चिएको स्थानीयवासीले बताएका छन् । पुलको दायाँबायाँ रहेका फलामका पाताहरु भाँच्चिएर करिब पाँच फिट तल धस्सिएका छन् ।

पानी परेमा जुनसुकै बेला पनि डाइभर्सन बगाउन सक्ने भएकाले बेलीब्रिजको निर्माण गरिने भएको छ । पुलको मर्मत गर्न धेरै समय लाग्ने भएकाले बेलीब्रिज बनाउन लागिएको भटृराईले बताए।

डाइभर्सनको मात्र भर नपरौँ भनेर बेलीब्रिज बनाउन लागेका छौँ, उनले भने – “दस दिन जतिमा बेलीब्रिज बन्छ, त्यसले अलि सहज बनाउँछ ।”

सम्बन्धित शिर्षकहरु