साउन १२ । काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले भारतको पञ्जाब राज्यको गुरदासपुरको प्रहरी चौकी र सार्वजनिक बसमा भएको आतङ्ककारी हमलाको भ्रत्सना गरेका छन् ।
पाँच जना प्रहरी र तीन जना सर्वसाधारणको हत्या भएको सोमबार बिहान भएको सो घटनापछि मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सन्देश पठाइ उनले यस कायरतापूर्ण र अमानवीय आक्रमणको विरोध गर्दै दुःखको यस घडीमा नेपाल सरकार र नेपाली जनता भारतको साथमा रहेको बताएका छन्।
प्रधानमन्त्रीले यस आक्रमणमा परी जीवन गुमाउनु भएका प्रहरी सुरक्षाकर्मी र सर्वसाधारणका आफन्त र स्वजनसहित भारतीय जनताप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना पनि प्रकट गरेका छन् ।
साथै प्रधानमन्त्री कोइरालाले आतङ्कवाद शान्ति, स्थिरता, लोकतन्त्र र विकासको विरोधी भएकाले यसलाई परास्त गर्न संयुक्तरुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले यसमा नेपालको पूर्ण समर्थन रहने पनि बताएका छन् । प्रधानमन्त्रीले जुनसुकै स्वरुप र आवरणका हरेक आतङ्कारी क्रियाकलाप निन्दनीय भएको बताउँदै गुरदासपुर आक्रमणका आतङ्कारीलाई परास्त गर्न भारतीय सुरक्षाकर्मी सफल भएकामा उनीहरुको साहसिक कदमकोे प्रशंसा गरेका छन् ।
शोक व्यक्त
प्रधानमन्त्री सुशील कोइरालाले भारतका पूर्व राष्ट्रपति डा एपिजे अब्दुल कलामको ८४ वर्षको उमेरमा सोमबार निधन भएकोमा दुःख व्यक्त गरेका छन ।
प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा पूर्व राष्ट्रपति डा कलामको निधनको खबरले म अत्यन्त मर्माहत भएको छु र यस दुःखद् घडीमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दछु भनिएको छ ।
प्रधानमन्त्री कोइरालाले भारत शोकाकुल भएको यस क्षणमा आफ्नो व्यक्तिगत, नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनीमार्फत भारत सरकार, स्व कलामका स्वजनसहित समस्त भारतीय जनतामा हार्दिक समवेदना प्रकट गरेका छन् ।
संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई वैज्ञानिक क्षेत्रमा उन्नति र प्रगतिको मार्गमा हिँडाउन डा कलामले गरेको योगदान अविश्मरणीय रहेको चर्चा गर्दै प्रधानमन्त्री कोइरालाले उहाँको निधनबाट भारतले मुलुकको उन्नति र प्रगतिप्रति सदा समर्पित पूर्व राष्ट्रपति र वैज्ञानिक गुमाएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले भनेका छन् “नेपालले एक असल मित्र गुमाएको छ । मैले एक श्रद्धेय एवम् आदर्श व्यक्तित्व सदाको लागि गुमाएको छु ।”
प्रधानमन्त्रीले शोकको यस घडीमा समस्त भारतीय जनतालाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेका छन् ।







