साउन १०। काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नगारिकताको विषयमा विभिन्न भ्रमहरू फिँजाइएको भन्दै आफूहरू कोही नेपाली नगारिकताबाट बञ्चित हुन नहुने पक्षमा रहेको स्पष्ट पारेका छन् । नागरिकताको विषय राष्ट्रियतासँग पनि गाँसिएको हुनाले मुलुकको रणनीतिक हितलाई ध्यानमा राखि केही शर्त वा बन्देज राख्नु स्वभाविक भएको उनको भनाई थियो । आइतबार पार्टी मुख्यालय बल्खुमा सुरू भएको चौँथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साउन मसान्त भित्रमा संविधान निर्माण भएरै छाड्ने ठोकुवा पनि गरे ।
‘अहिले पनि संविधान निर्माण कार्यलाई असफल पार्न अनुचित काम गर्ने पक्षहरु छन्’, बैठकमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘तिनीहरूलाई कुनै हालतमा सफल हुन दिइने छैन । हामी एकताबद्ध भएर संविधान निर्माणको काममा लागेको छौँ ।’
दलहरूबीच सहमति निर्माण गर्न नसक्दा अघिल्लो संविधानसभा विघटन भएको बताउँदै अध्यक्ष ओलीले दलहरूबीच सहमति कायम गर्न नसकेकै कारणले एकवर्ष भित्र संविधान जारी गर्ने दलहरूको प्रतिवद्धता पुरा हुन नसकेको उल्लेख गरे । ‘अहिले हाम्रै विशेष पहलमा दलहबीच सहमति कायम भएको हो । त्यसैको परिणाम स्वरूप १६ बुँदे सहमति भयो । सहमति भएका कुराहरू लिएर अघि बढौँ र सहमति नभएका विषयलाई थाति राखेर जाऔँ भन्ने विचार पनि एमालेले नै अघि सारेको हो’ ओलीको भनाई थियो ।
संविधानको मस्यौदा पनि तयार भइसकेको र जनताका सुझावहरू पनि संकलन भइसकेका भन्दै ओलीले मस्यौदामाथि जनताको राय–सुझाव लिन जाँदा केही ठाउँमा समस्या खडा गर्न खोजिएको बताए ।
‘रायसुझाव कार्यक्रम विथोल्न खोज्ने संविधान सभामा आउँदै नआएका र बहिष्कार गरेका शक्तिहरू हुन् । हिजो तिनीहरू संविधानसभाका जननी हामी नै हौँ भन्थे तर आज आफैँ संधिवानसभाबाट संविधान बन्नु हुँदैन । गोलमेचबाट बन्नु पर्दछ भनेर हिँड्दैछन्’ उनले भने ‘यस्ता शक्तिबाट व्यवधान गर्न खोज्नु अनौठो कुरा भएन । तर, संविधानसभाभित्रै भएका केही भिन्न दृष्टिकोण राख्ने शक्तिहरूले मस्यौदा खोस्ने च्यात्ने जलाउने काम अस्तव्यस्तता पैदा गर्ने र संविधानसभालाई नै असफल बनाउने प्रयत्न गर्दै छन् । तर, त्यस्ता तत्वहरू जनताबाट अलग्गि सकेका छन् ।’
आम जनताले मस्यौदालाईं स्वागत गरेको भन्दै अध्यक्ष ओलीले जनताहरूले सुझाव दिने कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको दावी गरे । ‘अहिलेको मस्यौदालाई जनताको समर्थन छैनन भन्ने गलत हल्ला पनि चलाइएको छ । यो सरासर गलत कुरा हो । सुझाव आइसकेका छन् । त्यसलाई एकतृत गरेर अन्तिमरूप दिइनेछ’ उनको भनाई थियो ।
अदालतरे गरेको फैसलाबारे दलहरूको धारणा आइसकेको भन्दै उनले संविधानबनाउने काम संविधानसभाको भएको जिकिर गरे । ‘संविधानसभाबारे सर्वोच्च अदालतको सिंगल वेञ्चले गरेको फैसला बारे दलहरूले आफ्नो अडान स्पष्ट पारिसकेका छन्’ उनले भने ‘सर्बोच्चको फुलकोर्टले मस्यौदा माथि सुझाव प्रस्तुत गरेर प्रकारान्तरले हिजोको सिंगल बेञ्चले गरेको निर्णय खारेज गरिसकेको छ ।’
आएका सुझाव एकतृत गर्न दलहरूबीच पुनः सहमति आवश्यक पर्ने भन्दै दलहरूबीच सहमति भएमात्रै केही हेरफेर हुन सक्ने स्पष्ट पारे । तर, मुलुकको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सामाजिक सद्भाव, लोकतन्त्र जस्ता आधारभुत सवालमा नेकपा एमाले कसैसँग सम्झौता नगर्ने उनको भनाई थियो ।
बैठक आगामी बुधबार १२ बजे सम्मलाई स्थागित भएको छ ।








