साउन ५ । बिरगञ्ज संविधानसभाको मस्यौदामाथि रायसुझाव सङ्कलन गर्ने कार्यक्रमका विरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले सोमबार अत्यधिक बल प्रयोग गरेको भन्दै संयुक्त मधेसी मोर्चाले आज गरेको मधेस बन्दका कारण मध्य तराईको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बारा, पर्सा र रौतहटका सदरमुकाम क्रमशः कलैया, वीरगन्ज र गौरमा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । प्रदर्शनकारीहरुले बिहानैदेखि वीरगन्ज, कलैया तथा गौरका विभिन्न चोकमा टायर बालेर अवरोध सिर्जना गरेका छन् । आ–आफ्नो पार्टीका झन्डा बोकेर प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि वीरगन्ज, कलैया र गौर बजार बन्द गराएका छन् ।
बन्दका कारण यी सहरका प्रमुख बजार पूर्णरुपमा बन्द रहेका छन् भने गल्लीका बजार फाट्टफुट्टरुपमा खुलेको देखिएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल, साइकल, रिक्सा र टाँगा निर्वाधरुपमा चलेको देखिन्छ । यद्धपि ती साधन पनि पहिलाभन्दा निकै कम चलेका छन् ।
बन्दका कारण यस क्षेत्रका शैक्षिक संस्था तथा उद्योग प्रतिष्ठान र कलकारखाना पनि बन्द रहेका छन् । बन्दलाई दृष्टिगत गरेर यो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएका छन् । सुरक्षाको उच्च र भरपर्दो व्यवस्था मिलाइएका कारण अहिलेसम्म कुनै अप्रिय घटना नभएको अञ्चल प्रहरी कार्यालय नारायणी, वीरगन्जले जनाएको छ । मोर्चामा आबद्ध सङ्घीय समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टी रहेका छन् ।








