असार २९ । काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले नयाँ बन्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्ने बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २०२औँ जयन्तीका अवसरमा भानु प्रतिष्ठानद्वारा आज यहाँ आयोजित प्रभातफेरी, सम्मान तथा श्रद्धाञ्जलि समारोहमा उनले साहित्यिक कृतिको माध्यमबाट नेपालको भाषिक तथा सांस्कृतिक एकतामा भानुभक्तले पु¥याउनुभएको योगदान प्रेरणादायी भएको बताए ।
“आफूभन्दा अघिका कवि र समकालीन कविहरुमा उहाँ विशिष्ट हुनुहुन्थ्यो । आध्यात्मिक विषयका साथै सामाजिक एकता र सद्भावका विषयलाई साहित्यिक रचनामा प्राथमिकता दिने उहाँ सामाजिक कवि हुनुहुन्थ्यो” – प्रधानमन्त्रीले भने।
भानुभक्तले नेपाली समाजको एकताका लागि गर्नुभएको योगदानको कदरस्वरुप भानु प्रतिष्ठानले माग गर्दै आएको प्रतिष्ठानको भवन निर्माणका लागि एक रोपनी जग्गा उपलब्ध गराउन आफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले प्रतिष्ठानका तर्फबाट नेपाली भाषा तथा संस्कृतिमा योगदान पु¥याएका साहित्यकारद्वय चूडामणि रेग्मी र तेजेश्वरबाबु ग्वंँगलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
रेग्मी र ग्वँगलाई सम्मानार्थ प्रतिष्ठानले रथारोहण गरी प्रभातफेरीसहित नगर परिक्रमा गराएको थियो ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले नेपाली समाजको एकताका लागि महत्वपूर्ण योगदान पु¥याउनु भएका भानुभक्तको योगदानलाई चिरस्थायी बनाउन देश तथा विदेशका विभिन्न स्थानमा भानुभक्तको सालिक निर्माण गर्ने कार्य अघि बढेको बताए ।
भानु प्रतिष्ठानले २०३३ सालदेखि भानु जयन्तीका दिन निरन्तर प्रभातफेरीलगायतका कार्यक्रम गर्दै आएको उनले जानकारी गराए।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले भानुभक्तले तत्कालीन अवस्थामा साहित्य रचनाका माध्यमबाट गर्नुभएको लोकहितको कामना वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
बन्दै गरेको नेपालको नयाँ संविधान लोकहितका लागि अत्यन्त उपयोगी हुने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको भाषिक तथा सांस्कृतिक एकतामा भानुभक्तको योगदान र भौगोलिक एवम् राजनीतिक एकीकरणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेको बताए।
भानु जयन्ती र पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने प्रचलन नेपालको जारी संक्रमणका कारण अबरुद्ध भएकोमा यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।
साहित्यकार तेजेश्वरबाबु ग्वँगले नेपाली भाषा साहित्यको समग्र विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताए ।
भानु प्रतिष्ठानका महासचिव डिपी अर्यालले भानुभक्तको योगदान चिरस्थायी बनाउन र नेपाली भाषा सहित्यको विकास गर्न प्रतिष्ठान निरन्तर क्रियाशील रहेको बताए ।
कार्यक्रममा साहित्यकार नवराज लम्साल, बुनु लामिछाने, दिवस ठकुरीलगायतले भानुभक्तका कविता वाचन गर्नुभएको थियो भने भानु जयन्तीका अवसरमा प्रभातफेरीमा सहभागी विद्यालयलाई सम्मान गरिएको थियो ।








