असार २७। काठमाडौँ, आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत शनिबार समूह एमा नेपाल र नामिबियाले एक–एक अंक बाँडेका छन् । आयरल्यान्डको वेल्फास्ट क्रिकेट मैदानमा लगातार वर्षाका कारण खेल सम्भव नभएपछि म्याच रेफ्री स्टेभ बेनार्डले नेपाल र नामिबियालाई एक–एक अंक प्रदान गरेका हुन् ।
अनिर्णीत नतिजासँगै नेपाल समूह एमा तीन अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नामिबिया एक अंकका साथ चौथो स्थानमा छ । सो समूहमा जर्सी र आयोजक आयरल्यान्डले दुई–दुई अंक जोडेका छन् ।
नेपालका कप्तान पारस खड्काले टस जित्दै नामिबियालाई ब्याटिङको निम्तो दिएका थिए ।
नामिबियाले ७।४ ओभरमा एक विकेटको नोक्सानीमा ६१ रन जोडेको थियो । नामिबियाका लागि स्टेफेन बार्डले २६ बलमा ३९ रन बटुले । नेपालका लागि एक मात्र विकेट कप्तान पारस खड्काले लिएका थिए । पारसले गेरिने स्यमानलाई १० रनमा अनिल मण्डलबाट क्याच आउट गराए । पटकपटक वर्षा भइरहँदा खेल २० बाट १७ ओभरमा छोट्याइएको थियो ।
जर्सीको सानदार जित
पहिलोपटक टी–२० विश्वकप छनोटमा सहभागिता जनाएको जर्सीले हङकङलाई नौ विकेटले हराएको छ । सन् २०१३ को टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको अनुभव प्राप्त हङकङले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रनको बलियो योगफल बनाएको थियो ।
प्रत्युत्तरमा जर्सीले १७।२ ओभरमा एक विकेटको क्षतिमा १५४ रन जोड्यो । जर्सीले समूह एमा दुई अंक जोडेको छ । आयोजक आयरल्यान्डले पनि दुई नै अंक बनाएको छ । पहिलो ब्याटिङ गरेको हङकङका लागि अंसुमान राथले ४४ बलमा ४३ रनको योगदान दिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । ओपनर इर्फान अहमदले १९ बलमा २७ रन बनाए । उनले समान दुई चौका र छक्का ठोके ।
इर्फान र अंसुमानबीच पहिलो विकेटका लागि ३५ रनको साझेदारी भएको थियो । तेस्रो क्रमका ब्याट्सम्यान निजाकत खानले २३ बलमा दुई चौकाको सहयोगमा २५ रन बटुले । लक्ष्य पछ्याएको जर्सीका लागि पिटर गफले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा ८१ रनको योगदान दिए । उनले १० चौका हिर्काए । ओपनर इडवार्ड फार्लीले ३५ बलमा ५७ रन बनाए । उनले तीन चौका र चार छक्का प्रहार गरेका थिए ।
स्कटल्यान्डको हार
नेदरल्यान्डले आयोजक स्कटल्यान्डलाई ३२ रनले हराएको छ । ग्रान्गे क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्डले ६ विकेटको नोक्सानीमा १९१ रनको विशाल योगफल खडा गर्यो । प्रत्युत्तरमा स्कटल्यान्ड १९।५ ओभरमा १५९ रनमा समेटियो । समूह बीमा स्कटल्यान्ड र नेदरल्यान्डले दुई खेलमा समान एक हार र जित निकाल्दै दुई अंक जोडेका छन् । सो समूहमा अफगानिस्तान चार अंकका साथ शीर्ष स्थानमा छ ।
नेदरल्यान्डको ब्याटिङमा वेस्ली बारेसीले सर्वाधिक ७५ रन बटुलेका थिए । उनले ४० बलमा सात चौका र पाँच छक्का हिर्काए । यसैगरी पिटर बोरेनले २८ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५७ रन बनाए । स्कटल्यान्डको इनिङमा प्रिस्टन मोमसनले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा ५ चौका र तीन छक्का प्रहार गरेका थिए । इनिङको अन्तिममा याफन सरिफले १७ बलमा २६ रन जोडे ।
केन्याले ओमानलाई हरायो
समूह एमा केन्याले ओमानमाथि सात रनको रोमाञ्चक जित दर्ता गरेको छ । पहिलो ब्याटिङ गरेको केन्याले २० ओभरमा सात विकेट गुमाउँदै १४३ रन बनायो । प्रत्युत्तरमा ओमानले ७ विकेटको क्षतिमा १३६ रन मात्र बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ३७ बलमा ५० रन बनाए ।








