परीक्षार्थी परीक्षाबाट बन्चित

edu3असार २७। दाङ, रोल्पाकी कल्पना पौडेल शिक्षक सेवा आयोगको परीक्षा दिन तीन दिन अघि दाङ झरिन्। शनिबार तय गरिएको (निमावी तह) सामाजिक विषयको परीक्षा दिन दाङ आएकी उनि होटेलमै बसिन्।

तर शनिबार परीक्षा दिन पाइनन्। उल्टै दिनभर आन्दोलनमा होमिनु पर्यो। शिक्षा सेवा आयोगले गरेको त्रुटीका कारण कल्पना जस्ता ६ सय विद्यार्थी शनिबार दिनभर सडकमा नारावाजीमा उत्रिए। ‘हाम्रो भविष्य माथि खेलवाड गरियो,’कल्पनाले आक्रोश पोखिन् ‘सवै ठाउँको परीक्षा रद्द गरियोस्।’ शिक्षा सेवा आयोगलेनै अपुग प्रश्नपत्र पठाएपछि ६ सय विद्यार्थी शिक्षक सेवा आयोगको परीक्षा दिनबाट बन्चित भएका हुन्।

परीक्षा दिन नपाएको आक्रोशमा आन्दोलित परीक्षार्थीहरु

परीक्षा विहान ११ बजेदेखि सुरु हुने भनिएको थियो। परीक्षार्थीहरु परीक्षाहल भित्र छिरिसकेका थिए। अन्य परीक्षा केन्द्रमा निर्धारित समयमै परीक्षा सुरु भयो। तर घोराहीस्थित जनज्योती परीक्षा केन्द्रमा भने निर्धारित समयमा परीक्षा सुरु भएन। त्यहाँका विद्यार्थीहरुलाई उत्तर पुस्तिका मात्रै बाँडियो तर प्रश्न पत्र पाएनन्। सामाजिक बिषयको प्रश्नपत्र पठाइनु पर्नेमा शिक्षा सेवा आयोगबाटै अंग्रेजी विषयको प्रश्नपत्र पठाइएको रहेछ। झण्डै एक घण्टा सम्म अन्यौलता कायमै रह्यो। एकघण्टा सम्म पनि प्रश्नपत्र नपाएपछि परीक्षार्थी आक्रोशित बनेका थिए।

‘पेपर पाइएला भनेर एक घण्टा सम्म कुरिम्,’कल्पनाले भनिन् ‘पछि सवैजना आक्रोशित हुँदै आन्दोलनमा निस्किए।’ आयोगको सानो त्रुटीले राप्तीका विभिन्न जिल्लाबाट परीक्षा दिन आएका परीक्षार्थीहरु परीक्षा दिनबाट बन्चित भएका हुन्। आयोगले शिलवन्दी गरेर पठाएको प्रश्नपत्रको खाममा ‘सामाजिक विषयको प्रश्नपत्र’ भनेर उल्लेख गरेको भएपनि भित्र भने अंग्रेजी बिषयको प्रश्न पत्र राखिएका थिए। परीक्षा दिनबाट बन्चित भएपछि आक्रोशित विद्यार्थीहरुले शनिबार दिनभर घोराहीमा आन्दोलन गरेका छन्।

उनिहरुले आफ्नो भविष्य माथि खेलवाड गरिएको भन्दै शिक्षा आयोग र शिक्षा कार्यालय विरुद्ध चर्का नारावाजी गर्दै वजारमा प्रदर्शन गरेका थिए। परीक्षामा वितरण गरिएका खाली उत्तर पुस्तिका समातेर वजारमा नारावाजी गरेका उनिहरुले शिक्षा कार्यालयको मुलगेटमा धर्ना समेत दिएका थिए। आक्रोशित परीक्षार्थीहरुको आन्दोलनका कारण शिक्षा कार्यालय परिसर तनावग्रस्त बनेको थियो। परीक्षार्थीहरुबाट तोडफोड हुन सक्ने भन्दै शिक्षा कार्यालय परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो। ‘हामीहरु परीक्षा दिनकै लागि भनेर होटेलमा कोठा लिएर बसेका छौं,’प्यूठानकी अर्की परीक्षार्थी देवमायाँ पोख्रेलले भनिन् ‘हाम्रो भविष्य माथि खेलवाड गर्न पाइन्छ?’ परीक्षा दिनकै लागि दाङ आएकी उनि तीन दिन देखि होटेलमै बसेको बताइन्।

राप्तीका पाँचै जिल्लाबाट परीक्षा दिन आएका परीक्षार्थीहरुलाई आयोगको त्रुटीले झनै सास्ती भएको छ। परीक्षाकै लागि होटेलमा बसेका उनीहरुलाई परीक्षा दिन नपाएरै फर्कनु परेको छ। ‘परीक्षा दिने भनेर आएको थिएँ,’रुकुमकी निरुता पुनले भनिन् ‘होटेलमा बसेको खर्च सबै बेकार भयो।’

यता जिल्ला शिक्षा कार्यालयले शिक्षा सेवा आयोगकै त्रुटीले समस्या निम्तिएको दावी गरेको छ। आयोगकै शिलवन्दी खाम भित्र फरक प्रश्नपत्र परेका कारण समस्या आएको भन्दै शिक्षा कार्यालयको कुनै दोष नरहेको जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले वताए। उनले भने ‘हामीले शिलवन्दी खाम खोल्ने भनेको परीक्षा सुरु हुनु भन्दा २० मिनट अघि मात्रै हो,त्यो पिरियडमा मात्रै हामीहरुलाई प्रश्न पत्र फरक परेको थाहा भएको थियो।’

आयोगकै त्रुटीले एउटा परीक्षा केन्द्रका ६ सय परीक्षार्थीले परीक्षा दिन नपाएपछि जिल्ला शिक्षा समन्वय समितिले सामाजिक विषयको परीक्षा रद्ध गर्न आयोगलाई अनुरोध गरेको छ। समितिले जिल्लामा देखिएको समस्या बारे जानकारी गराउँदै परीक्षा रद्द गर्न लिखित अनुरोध गरेको अर्यालले वताए। ‘शिक्षा समन्वय समितिको वैठक बसेर सामाजिक बिषयको परीक्षा रद्द गर्न आयोगलाई अनुरोध गरिसकेका छौँ,’अर्यालले भने ‘आयोगले कस्तो निर्णय गर्छ त्यसमा भर पर्छ।’ फरक प्रश्नपत्र फेला परेपछि शिक्षा कार्यालयले प्रश्नपत्र फोटोकपी गरेर भएपनि परीक्षा दिने व्यवस्था मिलाउने जनाएको थियो। तर एक घण्टा सम्म पनि प्रश्नपत्र नपाएपछि बिद्यार्थीहरु आक्रोशित बनेका थिए। छ सय यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु