जो थिए ड्रग एडिक्टेड

रिल लाइफ’मा चम्किएका तर ‘रियल लाइफ’मा कुलत (ड्रग एडिक्सन)मा फसेका बलिउड र हलिउड स्टारहरूको सूची लामै छ । उनीहरूमध्ये धेरै आफ्नो अतीत लुकाउन चाहन्छन् भने केहीले सार्वजनिक गरिसकेका छन् । बलिउडमा चम्किरहेका ‘यङ हिरो’ रणवीर कपुरदेखि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीसम्मको अतीत दुव्र्यसनीको रूपमा जोडिन्छ । ड्रगमा फस्नेहरूका लागि तीन विकल्प छन् : पहिलो सुध्रिने, दोस्रो जेल जाने र तेस्रो ओभर डोज वा अन्य कारणले मृत्यु वरण गर्ने । तर, ड्रगमा फसेर पनि सुध्रिएका चर्चित अनुहार यस्ता छन् :

चुरोट रक्सीको अम्मली मनीषा कोइराला

नेपालमा जन्मिएर बलिउडमा चर्चा बटुल्ने भाग्यमानी अभिनेत्री हुन्, मनीषा कोइराला । गत वर्ष पाठेघर क्यान्सरको सफल उपचारपछि फेरि फिल्मी क्षेत्रमा सक्रिय भइसकेकी कोइरालालाई बिबिसीले ‘इन्सपायरिङ वुमन’को रूपमा पनि समावेश गर्‍यो । तर, भारतको दैनिक भास्करले रणवीर कपुर र एन्जेलिना जोलीजस्तै मनीषा पनि कुनै वेला दुव्र्यसनी भएको लेखेको थियो । कुनै वेला चुरोट र रक्सी उनका प्रिय साथी थिए । जब क्यान्सर भयो, तब कोइराला सबै कुलतबाट टाढा रहिन् ।

हेरोइन र कोकिन लिन्थिन् एन्जेलिना जोली

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले पनि एक अन्तर्वार्तामार्फत आफू ड्रग एडिक्टेड भएको खुलासा गरेकी थिइन् । जोलीले लागूऔषध हेरोइन र कोकिनको प्रयोग गर्ने गर्थिन् । तर, जब बच्चा स्याहार्नुपर्ने भयो, तब उनले सब कुलत छोडिन् । उनले सिबिएस न्युजको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म जवान छँदै मरिनँ, त्यसैले म भाग्यमानी हुँ ।’

जेल नै परेका थिए सञ्जय दत्त

बलिउड अभिनेता सञ्जय दत्तका केही आपराधिक पाटोभित्र ड्रग पनि जोडिएर आउँछ । उनी ड्रगिस्ट थिए । सन् १९८२ मा ड्रगसहित पक्राउ परेका दत्तले पाँच महिना जेल सजाय भोगेका थिए । जेलबाट छुटेपछि केही समय पुनस्र्थापना केन्द्रमा राखिएका उनले पछि ड्रग सेवन छोडेको बताइन्छ ।

सुटिङअघि ड्रग्स लिन्थे रणवीर कपुर

बलिउडका चर्चित अभिनेता रणवीर कपुरको अतीत खराब आदतले पोतिएको छ । रणवीर ‘चेन स्मोकर’ रहेको सबैले जान्दछन्, तर कुनै वेला उनी ड्रग्सको चर्को आदतमा फसेका थिए । रकस्टार फिल्म सुटिङका दौरान एउटा ‘सिन’ दिने क्रममा कपुर निकै काँपिरहेका थिए । तत्काल ड्रग्स लिएर मात्रै फेरि सुटिङमा सामेल हुनुपरेको थियो । यो कुरा कपुर आफैँले एक अन्तर्वार्तामा बताइसकेका छन् । स्कुले जीवनदेखि नै आफू ड्रग्सको आदतमा फसेको बताउने कपुर अहिले यो लतबाट उम्किसकेका छन् ।

कोकिन कारोबारी थिए फरदिन खान

चर्चित निर्माता/निर्देशक फिरोज खानका एक्लो छोरो हुनुको दम देखाउन नसकेको आलोचना बलिउडमा फरदिन खानले खेप्ने गरेका छन् । उनका कुर्बानी, धर्मात्मा, जबाबलगायत कुनै पनि फिल्म चम्किन सकेनन् । बरु, ड्रगका कारण उनको जीवनमा दाग लाग्यो । ५ मे २००१ मा खान कोकिनसहित पक्राउ परे । डिलरसँग कोकिन खरिद गरेको आरोपमा मुद्दा खेपेका खान सन् २०१२ मा अदालतले मुद्दा अघि नबढाउने निर्णय लिएपछि जोगिएका थिए ।

६ वर्षमै कोकिन सेवन गर्थे रोबर्ट डाउनी जुनियर

‘आइरन म्यान’को भूमिकाले हलिउडमा थप चर्चित बनेका रोबर्ट डाउनी जुनियर जीवनको मोडमा सबैभन्दा बढी कमाइ गर्ने अभिनेताका रूपमा उभिन सफल भए । तर, डाउनी जुनियरको विगत ड्रगमा फसेको देखिन्छ । ६ वर्षको उमेरदेखि उनले ड्रग सेवन सुरु गरेका थिए । फिल्म निर्माता रहेका बुबासमेत ड्रग सेवक भएकाले डाउनी जुनियर हेरोइन र कोकिनको लतमा फस्न पुगेका थिए । सन् १९९६ अप्रिलमा उनी हेरोइन, कोकिन र पेस्तोलसहित पक्राउ परेका थिए । त्यसपछि पटक–पटक पुनस्र्थापना केन्द्रमा राखेर उनको लत छुटाइएको थियो । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित शिर्षकहरु