मेस्सीले उत्कृष्ट खेलाडीको अवार्ड लिन अस्विकार गरे

असार २१ । काठमाडौं,अर्जेन्टिनाका लिओनल मेस्सीले कोपा अमेरिकाको उत्कृष्ट खेलाडीको अवार्ड लिन अस्वीकार गरेका छन् ।
अर्जेन्टिना आयोजक चिलीसँग पेनाल्टी सुट आउटमा पराजित भएपछि स्टेजबाट एकाएक ‘बेष्ट प्लेयर आफ दि टुर्नामेन्ट’ अवार्ड हटाइएको थियो ।मेस्सीले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड लिन अस्वीकार गरेको अर्जेन्टिनी सञ्चार माध्यमहरुले जनाएका छन् । मेस्सीले अफिसियलहरुलाई आफूलाई उक्त अवार्ड नदिन भनेको बताइएको छ ।
यसै सिजन क्लब बार्सिलोनालाई च्याम्पियन्स लिगसहित प्रमुख तीन उपाधि दिलाउन सफल मेस्सी अर्जेन्टिनाको जर्सीमा भने चुक्दै आएका छन् ।२२ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउने मौका उनले सदुपयोग गर्न सकेनन् । यसअघि विश्वकप फुटबलमा पनि उनको नेतृत्वमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।
कोपा अमेरिकामा मेस्सीले एक मात्र गोल गरे र त्यो पनि समूह चरणमा पाराग्वेसविरुद्धको पेनाल्टी गोल थियो ।तर, सेमिफाइनलमा पाराग्वेविरुद्धको खेलमा भने उनले जादुमयी प्रदर्शन गरे । अर्जेन्टिनाले ६-१ को जित हात पार्दा उनले तीन गोलका लागि पास दिएका थिए ।

सम्बन्धित शिर्षकहरु