राप्रपा नेपाल अब देशव्यापी आन्दोलनमा

असार २० । काठमाडौं, आफुहरुले माग राखे जस्तो संविधान निर्माण नभएको भन्दै राप्रपा नेपालले देशब्यापी रुपमा अनिश्चितकालिन आन्दोलन गर्ने जनाएको छ । बहुमतको आडमा संविधान निर्माणमा जालझेल भैरहेको भन्दै पार्टीले हिन्दु राष्ट्र स्थापनाको माग गरेको छ ।

केन्द्रीय कार्य समितिले आज बैठक बसेर अनिश्चितकालीन राजधानी केन्द्रित आन्दोलन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
यही असार २२ सबै जिल्ला सदरमुकामहरुमा जुलुस, प्रदर्शन तथा सभाहरु गर्ने राप्रपा नेपालले जनाएको छ ।
सोही दिन काठमाडौं उपत्यकामा भने तिनै जिल्लाको संयुक्त जुलुस बबरमहलबाट शुरु गरी संविधानसभा भवन अगाडि पुगेर धर्ना दिइने छ ।
साउन पहिलो हप्तादेखि अनिश्चितकालिन राजधानी केन्द्रित संघर्ष गरिने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो ।
राप्रपा नेपालले निकट भविष्यमा काठमाडौंमा बृहत सनातन धर्मसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी साउन १ गतेदेखि हरेक वडामा ‘राप्रपा नेपाल राष्ट्रिय अभियान’ संचालन गर्ने, युवक, बिद्यार्थी र ट्रेड युनियनहरुको केन्द्रीय अधिवेशन कार्तिक महिना भित्र सम्पन्न गर्ने तथा भूकम्प पीडितहरुका लागि १ करोड रुपैयाँको सहायता कोष खडा गर्ने निर्णय बैठकले गरेको छ ।
संविधान निर्माणको क्रममा केही राजनैतिक दलहरुले संविधानसभाको अन्तरबस्तुहरुमा पर्याप्त छलफल गर्न नदिने, नियमावली निलम्बन गर्ने, संविधान मिच्ने तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्ने जस्ता कार्य भैरहेको भन्दै रा.प्र.पा नेपालले आपत्ति जनाएको छ ।

सम्बन्धित शिर्षकहरु