संविधानसभा बैठकको अवरोध हट्यो

CA-buildingअसार १९। काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको बैठकलाई अवरोध नगर्ने र संविधान लेखनलाई सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र राप्रपा नेपालका अध्यक्ष कमल थापाका बीचमा शनिबार संविधानसभा भवन बानेश्वरमा भएको बैठकपछि सो पार्टीले अवरोध कार्यलाई फिर्ता लिएको हो ।

अध्यक्ष थापाले संविधानसभाको बैठकमा विधि र प्रक्रिया स्थापित होस् भन्नाका लागि आफ्नो पार्टीले शनिबारदेखि बैठक अवरोध गरेको र आफ्नो मागप्रति शीर्ष नेता सकारात्मक भएकाले अवरोध फिर्ता लिइएको जानकारी दिए। उनले धार्मिक स्वतन्त्रताको कुरा मस्यौदामा राख्दा ध्यान दिन आग्रह गरे ।

यसअघि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रत्येक व्यक्तिलाई धार्मिक स्वतन्त्रता रहने मौलिक व्यवस्था गर्न निक्र्योल समिति हुँदै मस्यौदा समितिमा आएकाले सोहीअुनरुप मस्यौदामा समावेश गरिएको स्पष्ट पार्नुभएको थियो । उनले उक्त प्रावधानले धर्म परिवर्तनको हक दिने नभई बरु दण्डनीय हुने व्यवस्था गरेको बताए ।

सभापति सिटौलाले मस्यौदामाथिको छलफललाई बिनाअवरोध अगाडि बढाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन आह्वान गरे ।

सम्बन्धित शिर्षकहरु