ग्रानभिल, ‘यो चुनाउ त मलाई नेपालको जस्तै लाग्यो, उस्तै राजनीति जहाँ पनि नेपाली’ एनआरएनए अष्ट्रेलियाको निर्वाचन हेर्न ग्रानभिलमा भेटिएका एक जना बृद्ध भन्दै थिए । श्रीमतीको साथमा ढाका टोपी पहिरिएर मतदान स्थलमा उपस्थित उनी मतदानका लागि आएका अरूसँग गफिँदै पनि थिए, ‘यहाँको निर्वाचनमा नेपालमा जस्तो प्रहरी रहेन छ बाँकी एउटै लाग्यो ।’ हुन पनि एनआरएनए अष्ट्रेलियाको निर्वाचनले नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिलमा वेग्लै रौनकता छाएको छ । ग्रानभिलमा अहिलेसम्म १८ सय मत खसिसकेको छ भने २२ सय मत खस्ने अनुमान गरिएको छ । सवै भन्दा बढी मतदाता रहेका कारण ग्रानभिललाई निर्णायक पनि मानिएको छ ।
मतदान स्थलमा दुवै पक्षले आ–आफ्नो स्टल राखेका छन् । र उनीहरूले भिन्ना भिन्नै रंगको ज्याकेट पनि पहिरिएर निर्वाचन प्रचार– प्रसार गरिरहेका छन् । त्यसैगरी मतदातालाई प्रभावित पार्नका लागि दुवै पक्षले प्रत्यासीहरूको नामावली सहितको सूची बाँडिरहेक छन् । तर, भित्र गएर दुवै पक्षलाई मिलाएर मत हालेको मतदाताहरू बताउँछन् । सबैभन्दा बढी मतदाता रहेपनि मिश्रित मत खसेकाले एउटै पक्षको प्यानलै जित्ने सम्भावना न्यून प्रायः भएको छ। तथापी अध्यक्षका प्रत्यासीमा भने कडा टक्कर देखिएको छ । मतदाताका अलावा गैर मतदाताहरूको पनि उल्लेख्य उपस्थिति रहेकाले मतदान स्थल वरपर पार्किङको पनि व्यापक समस्या देखिएको छ । स्यवम् सेवकहरूले त्यसको व्यवस्थापन गरिरहेका छन् ।







